रवि लामिछानेको चितवनवासीलाई कारागारबाट सन्देश: “चितवन थाक्दैन, म हार्दिन”

0
39

 

रवि लामिछानेको चितवनवासीलाई कारागारबाट सन्देश: “चितवन थाक्दैन, म हार्दिन”

चितवन, असार ७
जेल जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (राससपा)का सभापति रवि लामिछानेले चितवनवासी जनतालाई भावुक सन्देश पठाएका छन्। पार्टीकी महानगर सभापति सीता ज्ञवालीमार्फत उनले आफ्नो भावना, आभार र राजनीतिक संकल्प अभिव्यक्त गरेका हुन्।

उनको भनाइ छ,
“मेरो इनर्जीको स्रोत चितवन हो। जहिलेसम्म चितवन थाक्दैन, म हार्दिन। यिनीहरूले जति दुःख दिए पनि म आत्तिएको छैन।”

रवि लामिछानेको सन्देश अनुसार, जनताले दिएका मत, विश्वास र चेतावनी आफूले जीवन्त रूपमा बुझेको बताउँदै चितवनका मतदाताको घरघरमा पुगेर त्यो भावना बाँड्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। उनले भनेका छन्,
“बुवाआमा र सबै मतदातालाई मेरो माया र सम्मान पुर्‍याइदिनुहोस्। तपाईंहरूको सन्देश मैले पाएको छु र जवाफ फर्काउन चाहन्छु।”

राजनीतिमा अझ खारिने संकल्प

रवि लामिछानेले कारागारभित्रको आफ्नो समयलाई राजनीतिक प्रशिक्षणको रूपमा लिएको बताएका छन्। उनले लेखेका छन्,
“मैले दैनिकी सजिलै चलाएको छु, धेरै अध्ययन गरेको छु। राजनीतिमा अझै खारिएर निस्किनेछु।”

उनको आग्रह छ कि कार्यकर्ता सानातिना कुरामा अल्झिनु हुँदैन र पार्टीलाई अझै एकढिक्का बनाएर अघि बढ्नुपर्छ। उनले पार्टीको जित नजिकै रहेको उल्लेख गर्दै जनतालाई विश्वास दिलाएका छन् कि सत्तामा बसेकाहरू अब जनताबाट प्रष्ट देखिइसकेका छन्।

संगठन निर्माण र अभियान सशक्त बनाउन जोड

सन्देशमा उनले हस्ताक्षर अभियानलाई अझ व्यापक बनाउन, वडा समितिबाट संगठनलाई बलियो बनाउन र राजनीतिक स्कुलिङमा ध्यान दिन विशेष जोड दिएका छन्।
“संगठनको बलियो जग वडा हो, वडाबाटै परिवर्तन सुरु हुन्छ,” उनले भनेका छन्।

उनले चितवनका ६ वटा पालिकाको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि पठाएका छन्।

“म जिउँदो रहँदा जनताको शासन अवश्य आउँछ”

राजनीतिमा धैर्य आवश्यक भएको उल्लेख गर्दै उनले भनेका छन्,
“म जिउँदो रहँदा एक दिन जनताको शासन चल्नेछ। तपाईँ हामी सफल हुनेछौं। जब शासकहरूले देश चलाउँछन्, त्यतिबेला यस्ता घटना घट्छन् भन्ने इतिहास छ।”

चितवनलाई आफ्नो आत्मिक शक्ति स्रोत बताउँदै रवि लामिछानेले चितवनवासीसँग प्रत्यक्ष संवाद बढाउन आग्रह गरेका छन्। सन्देशको अन्त्यमा उनले भनेका छन्,
“यदि कसैलाई अप्ठ्यारो परेको छ भने मलाई सम्झन भन्नुहोला। म यहाँ छु र तपाईंहरूको साथमा छु।”

 

LEAVE A REPLY