कथाकार महेन्द्र चालिसेको कथा सङ्ग्रह ‘अर्थहीन बलिदान’ माथि परिचर्चा गरिदै लोमश वाङ्मयको ११औं श्रृङ्खला सम्पन्न।

0
62

कथाकार महेन्द्र चालिसेको कथा सङ्ग्रह ‘अर्थहीन बलिदान’ माथि परिचर्चा गरिदै लोमश वाङ्मयको ११औं श्रृङ्खला सम्पन्न

-जयराम बिडारी

श्रावण २५ , काठमाण्डौ
कथाकार महेन्द्र चालिसेको कथा सङ्ग्रह ‘अर्थहीन बलिदान’ माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको एघारौं शृङ्खला अन्तर्गत आइतबार भएको उक्त कार्यक्रममा चालिसेको कथाकृतिमाथि परिचर्चाकार डा. धनप्रसाद सुवेदीले आफ्नो मन्तव्य राख्दै १७ कथा सङ्गृहित यस कथा सङ्ग्रहमा मुख्य रूपमा सामाजिक विषय ,त्यसमा पनि उत्पीडनको विषयवस्तुलाई समेटेर कथा लेखिएको बताउनुभयो । कथाकार चालिसे पत्रकार पनि हुनुभएकोले वहाँका केही कथामा पत्रकारिताको प्रभाव पनि परेको वहाँको भनाइ थियो । कथाकारका कथाहरू छोटा छोटा; एक बसाइमै पढ्न सकिने किसिमको रहेको बताउँदै वहाँले कथाहरू अगाडिको समयमा लेखिएको भएपनि निकै पछि २०७३ सालमा प्रकाशित भएर आएकोले नयाँ पाठकहरूलाई पुराना विषयवस्तुसँग तालमेल मिलाउन असहज हुने जस्तो भएपनि सङ्ग्रहमा तत्कालीन विषयवस्तुरू महत्त्वपूर्ण रूपमा आएका बताउनुभयो ।
साहित्यकार तेजप्रकाश श्रेष्ठले महेन्द्र चालिसे पहिलेदेखि नै साहित्य सिर्जना गर्ने भएपनि चर्चामा आउन त्यति नरुचाउने भएकाले आफूहरूकै घचचाहटमा प्रस्तुत कृति प्रकाशनमा आउन सफल भएको बताउँदै भविष्यमा अन्य कथाकृति पनि प्रकाशनमा ल्याउन कथाकरारलाई सुझाव दिनुभयो ।
पूर्व राजदूत एवं साहित्यकार रमेश खनालले आफ्नो केटाकेटीदेखिकै साथी महेन्द्र चालिसे पिता रमेश विकल र दाइ विजय चालिसेकै प्रभावले लेखन कार्यमा लाग्नुभएको चर्चा गर्दै वहाँ साहित्यकार विकलको साहित्यिक विरासतको एक अङ्ग भएको बताउनुभयो । चालिसेका कथाहरूमा आफूले सन्देशका अलावा विषयवस्तुहरूलाई यथार्थ रूपमा प्रस्तुत गर्ने विशिष्ट शैली पाएको वहाँको कथन थियो । चालिसेका कथाहरूले स्वदेशको मात्र नभएर विदेशमा बस्ने नेपालीका समस्याहरूलाई पनि उजागर गर्न सफल रहेको खनालको भनाइ थियो । “कथा सङ्ग्रहका शीर्षक रहेको ‘अर्थहीन बलिदान’ कथाले विद्रोहको स्वर उराल्दै आजको समयको यथार्थ चित्रण प्रस्तुत गरेको छ ।” वहाँले भन्नुभयो । रमेश विकल र विजय चालिसेको छत्रछायामा हुर्किएका कथाकारलाई आफ्नो लेखनमा पृथक पहिचान बनाउने चुनौति रहेकोमा नियात्रा, बाल साहित्य लगायतका विभिन्न विधामार्फत त्यस पहिचानलाई महेन्द्रले कायम राख्न सफल हुनुभएको वहाँले बताउनुभयो ।
आफ्नो कथाकृति’अर्थहीन बलिदान’ बारे चर्चा गर्दै कथाकार महेन्द्र चालिसेले आफ्ना कृतिहरू साहित्यकार तेजप्रकाश श्रेष्ठकै प्रेरणाले कृतिका रूपमा प्रकाशनमा आउन सफल भएको बताउँदै केही पाण्डुलिपिहरू प्रकाशनका निम्ति तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि डा.ऋषिराम शर्माले कथाकार चालिसेले आफ्नो कृतिको शीर्षक नै ‘अर्थहीन बलिदान’ जस्तो विरोधाभाष जनाउने शब्द चयन गरेर आफूलाई शुरूमै आकर्षित पारेको बताउनुभयो । साहित्यकारहरूका साहित्यमा आउने विषयहरू उस्तै उस्तै हुने गरेको भएपनि लेख्ने शैली भने फरक हुनुपर्ने मान्यता राख्दै वहाँले चालिसेले पनि आफ्ना कथामा आफ्नै शैली प्रयोग गर्नुभएको बताउनुभयो । डा.शर्माले आगामी कृतिहरूमा पनि यस्तो शैलीलाई कायम राख्न कथाकारलाई सुझाव दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि अनेसासका महासचिव राजु सिटौलाले पनि कथाकार चालिसेको कथासङ्ग्रहमाथि मन्तव्य राख्नुभएको थियो ।

प्रतिष्ठानका सचिव नवीन पल्लवद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको सभापतित्व लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ को सभापतित्वमा भएको थियो । भने स्वागत मन्तव्य गोपालकृष्ण अधिकारीले राख्नुभएको थियो । विशेषगरी नियात्रा र बाल साहित्य लेखनमा रुचि राख्ने चालिसेको प्रस्तुत सङ्ग्रह पहिलो कथाकृति हो ।
प्रारम्भ वर्ल्ड स्कूलको प्रायोजनमा भएको उक्त कार्यक्रममा अमर अधिकारी, रेणु अधिकारी ‘मौनता’, च्यवन बस्नेत ठूलाघरे, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ लक्ष्मणदेव पाण्डे,आल्फिफोहेन फाक्तुम्बा,धन्तन्वरी मिश्र, सत्या अधिकारी, श्यामकृष्ण डङ्गोल’प्रतीक्षा’, गोपाल अधिकारी, आलोक चालिसे, जगदीश्वर पोखरेल, निबन्ध आचार्य, जयराम बिडारी, रुबि सत्याल लगायतले आफ्ना सिर्जनाहरू वाचन गरिएको थियो ।

LEAVE A REPLY