नुवाकोटका युवाको नयाँ सोच : पुरानो ढर्राबाट होइन, नयाँ बाटोबाट विकासको यात्रा।

0
30

नुवाकोटका युवाको नयाँ सोच : पुरानो ढर्राबाट होइन, नयाँ बाटोबाट विकास

नुवाकोट, कात्तिक ९।
नुवाकोटमा पुरानै सोच र ढर्राबाट विकास सम्भव नभएको अनुभव गर्दै युवा पुस्ताले अब नयाँ बाटो खोज्न थालेका छन्। “नुवाकोट विकासको मोडेल कस्तो हुन सक्छ?” भन्ने विषयमा सुरु गरिएको भर्चुअल छलफलले युवाबीच नयाँ उत्साह र सक्रियता ल्याएको छ।

अभियानको सुरुवात राजनीतिक अभियन्ता राजन गौतमले गरेका हुन्। उनले प्रविधि प्रयोग गरेर देशभित्र र विदेशमा रहेका नुवाकोटेली युवालाई एउटै प्लेटफर्ममा जोड्दै सुझाव, विचार र गुनासा साझा गर्न सकिने वातावरण सिर्जना गरेका छन्। गौतमका अनुसार, “थप सजग र सक्रिय नागरिक बनाउने उद्देश्यले यो अभियान सुरु गरेका हौं। केही दिनमै सयौं सुझावहरू आएका छन्, ती सबैलाई व्यवहारिक योजना बनाउने तयारीमा छौं।”

अभियानमा वकिल तथा सञ्चारकर्मी रामेश्वर भण्डारी, अभियन्ता रजमान तामाङ, शिक्षक शरण महत, सञ्चारकर्मी उमेश खनाल, र अन्य युवाहरू सक्रिय छन्। भण्डारी भन्छन्, “नुवाकोट विकासको वास्तविक आधार युवा शक्ति र उनीहरूको ईमानदार आवाज हो। अब अवसरवादी मानसिकता हटाएर जिम्मेवार नेतृत्व निर्माण गर्नु आवश्यक छ।”

अभियानसँगै स्थानीय समस्याहरू पनि उजागर भएका छन्। बेलकोटगढी–१ की शिक्षिका सुशीला खतिवडाले सामाजिक सञ्जालमा वडाका जनप्रतिनिधि लामो समयदेखि सम्पर्कविहीन रहेको गुनासो राखेकी थिइन्। उनी भन्छिन्, “जनताको सेवा गर्न नसक्ने जनप्रतिनिधिले पदमा बस्नुको अर्थ छैन। विकासको काम रोकिएको छ, बाटो जीर्ण छन्, त्यसैले वडाबासी मिलेर पहल गर्नुपर्छ।”

भर्चुअल छलफलमा युवाहरूले भ्रष्टाचार र अनियमितताबारे प्रश्न उठाएका छन्। शिक्षक शरण महतले भने, “वृद्धभत्ता र चक्लाबन्दी खेतीजस्ता प्रकरणमा पुनः अनुसन्धान हुनु जरूरी छ।” राजनीतिक अभियन्ता रजमान तामाङले भने, “अब समय बदलिएको छ, पुराना सोचलाई छोड्दै नयाँ दृष्टिकोण अपनाउनुपर्छ।”

युवाहरूले स्पष्ट धारणा राख्दै पुराना नेताहरूलाई सल्लाहकारको रूपमा मात्र राख्ने र वास्तविक नेतृत्व अब नयाँ पुस्तामा आउने विचार राखेका छन्। सञ्चारकर्मी गोकर्ण बराल भन्छन्, “अब युवाले पार्टी वा जात हेरेर होइन, पात्र र क्षमता हेरेर अगाडि बढ्नुपर्छ।”

पुराना नेतासमेत छलफलमा सहभागी भएका छन्। एमाले नेता राजु रिजालले भने, “समस्या थाहा छ, अब समाधानका उपायमा ध्यान दिनु पर्छ।”
सञ्चारकर्मी उमेश खनालको भनाइमा, “हाम्रो जिल्लामा विकास पछि परेको मुख्य कारण हामीले चिन्ता नगरेको हो। आगामी निर्वाचनले नयाँ सोच र नयाँ म्यान्डेट ल्याउनेछ।”

अभियानले पुरानै ढर्राको विकास सोचलाई चुनौती दिँदै नयाँ बहस सुरु गरेको छ। राजन गौतम भन्छन्, “यो अभियान नुवाकोटबासीबीच छलफल र समाधान खोज्ने साझा प्रयास हो। सकारात्मक सुझाव मार्फत मात्र ठोस परिवर्तन सम्भव छ।”

नुवाकोटका युवाले सुरु गरेको यो पहलले भविष्यमा जिल्लाको विकास मोडेल निर्धारणमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।


 

LEAVE A REPLY