
पार्टी जडसूत्रवादमा फँस्यो भन्दै खरेल र न्यौपानेको विद्रोह।


काठमाडौं, कात्तिक १४।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरि एकपटक आन्तरिक विवादको भुमरीमा तानिएको छ। पार्टीका केन्द्रीय सदस्य नन्दलाल खरेल र स्कुलिङ विभागका सचिव भगिरथ न्यौपानेले पार्टी सदस्यता त्याग्दै सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनीहरूसँगै दर्जनौँ कार्यकर्ताहरूले पनि पार्टी छोडेको स्रोतले पुष्टि गरेको छ।
खरेल र न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीभित्रको वैचारिक भ्रम, कार्यगत निष्क्रियता र जडसूत्रवादी प्रवृत्ति नै पार्टी परित्यागको मुख्य कारण भएको उल्लेख गरेका छन्। उनीहरूको भनाइमा, “पार्टीले क्रान्तिको नारा त उचाल्छ, तर त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने हिम्मत र तयारी छैन। पार्टी गफगाफको अखडा बनेको छ।”
नेता नन्दलाल खरेलले हालको देशको राजनीतिक र आर्थिक अवस्थाप्रति पार्टी नेतृत्वको निष्क्रियतामाथि तीव्र असन्तोष जनाएका छन्। उनले भनेका छन्, “देश गहिरो संकटमा छ। साम्राज्यवादी हस्तक्षेप बढ्दै गएको छ, तर हाम्रो पार्टीले त्यसको गहिरो विश्लेषण गर्न र जनमुखी कार्यक्रम ल्याउन सकेन।”
त्यसैगरी सचिव भगिरथ न्यौपानेले संगठनभित्र अनुशासन, छलफल र वैचारिक सुदृढताको कमीले पार्टीको क्रान्तिकारी दिशा हराएको आरोप लगाएका छन्। “क्रान्तिको सपना बेच्ने तर त्यसका लागि संघर्ष गर्न नचाहने प्रवृत्ति पार्टीमा हावी भयो,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
दुवै नेताहरूले अब देशभक्त, जनमुखी र क्रान्तिकारी धारका सबै शक्तिहरूबीच एकता र ध्रुवीकरण आवश्यक रहेको निष्कर्ष निकालेका छन्। उनीहरूको भनाइमा, “साम्राज्यवाद र प्रतिक्रियावादविरुद्ध संयुक्त मोर्चा बनाउनु अहिलेको ऐतिहासिक आवश्यकता हो।”
विज्ञप्तिमा खरेल र न्यौपानेले आगामी दिनमा नयाँ वैचारिक अभियान अघि बढाउने संकेत पनि दिएका छन्। उनीहरूले “जनताको पक्षमा सैद्धान्तिक स्पष्टता, वैचारिक शुद्धता र क्रान्तिकारी एकता” को नारा उठाएका छन्।












