अधिवक्ता रामेश्वर भण्डारीद्वारा नागरिकलाई लोकतन्त्र र न्याय रक्षा गर्न एकजुट हुन आह्वान।

0
200

काठमाडौं — मुलुकमा बढ्दो राजनीतिक अस्थिरता र संवैधानिक संस्थामाथिको दबाबबारे चिन्ता बढिरहेका बेला सचेत नागरिक अभियान नेपाल ले लोकतन्त्र, न्याय र मानवअधिकार जोगाउन सबै नेपालीलाई संगठित हुन अपिल गरेको छ।

अभियानका अध्यक्ष अधिवक्ता रामेश्वर भण्डारीद्वारा जारी सार्वजनिक अपिलमा देश अहिले नाजुक मोडमा पुगेको उल्लेख गरिएको छ। उनका अनुसार पछिल्लो समय न्यायपालिकाको स्वतन्त्रतामाथि चुनौती, नागरिक आवाजलाई कमजोर पार्ने प्रयास र आधारभूत अधिकारहरू खुम्चिने संकेतहरूले मुलुकको लोकतान्त्रिक यात्रालाई जोखिममा पारिरहेका छन्।

अपिलमा भनिएको छ, “देश संकटमा छ। यस्तो बेलामा मौन बस्नु भनेको अन्यायलाई बलियो बनाउन सहयोग गर्नु हो। त्यसैले अब प्रत्येक नागरिकले सत्य, लोकतन्त्र र न्यायका लागि स्पष्ट आवाज उठाउनुपर्ने समय आएको छ।”

अभियानले आफू कुनै राजनीतिक समूह, ध्रुवीकरण वा नेताको पक्षमा नभई संविधान, सुशासन र संस्थागत सुदृढीकरणका पक्षमा उभिएको स्पष्ट पारेको छ। भण्डारीका अनुसार भ्रष्टाचार, विभाजनकारी राजनीति, असमानता र दुरुपयोग हुँदै गएको राज्यसत्ता मुलुकका प्रमुख चुनौती बनेका छन्, र तिनविरुद्ध सशक्त नागरिक दबाब नै दीर्घकालीन समाधानको बाटो हो।

अपिलमा युवालाई विशेष आह्वान गर्दै भण्डारीले भनेका छन्, “देश बदल्ने ऊर्जा युवामै छ। उनीहरूको कलम, आवाज र सचेत सोचले नै राष्ट्रको दिशा निर्धारण गर्न सक्छ।” अभियानका अनुसार परिवर्तन, पारदर्शिता, जवाफदेहीता र सुशासन निर्माणमा युवाको नेतृत्व निर्णायक बन्न सक्छ।

सचेत नागरिक अभियानले आगामी दिनमा देशभर नागरिक संवाद, सचेतना अभिवृद्धि कार्यक्रम, सार्वजनिक छलफल र लोकतन्त्र सुदृढीकरणका अभियानलाई थप तीव्र रूपमा अगाडि बढाउने जनाएको छ। संगठनले हिंसा होइन, तथ्य, विवेक र जिम्मेवार सहभागितामार्फत राष्ट्रलाई सही दिशामा लैजान सकिने विश्वास व्यक्त गरेको छ।

LEAVE A REPLY