
९८ करोड ठगी प्रकरण: प्रभु बैंकका सीईओ अशोक शेरचन CIB द्वारा पक्राउ


काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानको दायरामा परेका छन्। उनलाई आज प्रहरीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रवक्ता एसएसपी शिव श्रेष्ठले पुष्टि गरेका छन्।
प्रहरीका अनुसार बैंक भित्र भएका आर्थिक अपचलनका विषयमा विस्तृत छानबिन अघि बढाइरहेका बेला शेरचनलाई बयान र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई पनि प्रहरीले पक्राउ गरिसकेको थियो। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोपसहित प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले उजुरी दर्ता गराएकी थिइन्।
भट्टचनमाथि हुँदै आएको अनुसन्धानको क्रममा बैंकका सीईओ शेरचनको भूमिका पनि स्पष्ट पार्न आवश्यक देखिएकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले दुवै घटनालाई आपसमा जोडिएर आएको आर्थिक अनियमितताका मुद्दाको रूपमा हेरेर थप प्रमाण संकलनको प्रक्रिया तीव्र पारेको छ।











