प्रभु बैंकले सीईओ शेरचनलाई हटायो, उप–महाप्रबन्धक लम्सालले पाए कार्यकारी प्रमुखको जिम्मेवारी

0
25

काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई आन्तरिक प्रशासनिक प्रक्रिया अनुसार निलम्बन गरिएको सार्वजनिक जनाएको छ। सिआइबीद्वारा मंसिर १५ गते प्रकाशित सूचनासहित बैंकका केही कर्मचारीहरूमाथि आर्थिक अपचलनसम्बन्धी अनुसन्धान अघि बढेपछि बैंकले सन्चालनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको हो।

बैंकका अनुसार सीईओ शेरचनसहित तीन जना कर्मचारीमाथि अनुसन्धान भइरहेको अवस्थामा दैनिक बैंकिङ सेवा, शाखा व्यवस्थापन तथा कारोबार प्रणाली प्रभावकारी ढंगले अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक ठानिएको छ। बैंक सञ्चालक समितिको निर्णयअनुसार उप–महाप्रबन्धक   निरज लम्सललाई  तत्काल कार्यकारी जिम्मेवारी प्रदान गरिएको बैंकले जनाएको छ। लम्साल  मंसिर १६ गतेदेखि कार्यकारी प्रमुखका रूपमा काम गर्नेछन्।

विज्ञप्तिमा बैंकले ग्राहक तथा सर्वसाधारणलाई आश्वस्त गराउँदै भनिएको छ, “अनुसन्धान प्रक्रियाले बैंकको सेवा, कारोबार र नियमित कार्यसम्पादनमा कुनै बाधा पुर्‍याउँदैन। सम्पूर्ण प्रणाली पूर्ववत् रूपमा नै सञ्चालन भइरहेको छ।” बैंकले यस घटनाले ग्राहकको जमा, लगानी तथा कारोबार सुरक्षामा कुनै असर नपर्ने स्पष्ट पार्दै नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको उल्लेख गरेको छ।

सिआइबीले शेरचन र अन्य कर्मचारीविरुद्ध अनुसन्धान अघि बढाएपछि विभिन्न चर्चाहरू बाहिर आउन थालेका थिए। यसलाई मध्यनजर गर्दै प्रभु बैंकले प्रेस विज्ञप्ति जारी गर्दै तथ्यपरक जानकारी सार्वजनिक गरेको हो। बैंकले कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने र अनुसन्धान सकिँदासम्म आवश्यक सुधारात्मक काम निरन्तर अघि बढाइने जनाएको छ।

विज्ञप्तिमा बैंकले सेयरधनी, ग्राहक तथा सरोकारवालाले कुनै भ्रममा नपरी बैंकको नियमित सेवामा विश्वास राख्न आव्हान समेत गरेको छ। प्रभु बैंकको सेवा तथा कारोबार पूर्ववत् रूपमा चलिरहेको र नेतृत्व परिवर्तनले संस्थागत सुशासन अझ मजबुत बन्ने अपेक्षा गरिएको बैंकको भनाइ छ।

LEAVE A REPLY