भाद्र २४ गते देश खरानी बनाउने भूमिका खेलेको भन्दै सुशीला कार्की र ओमप्रकाश अर्यालको बयान लिनुपर्ने माग

0
8

काठमाडौं — २०८२ भाद्र २४ गते देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाबारे पूर्वनियोजन, नेतृत्व तथा सम्भावित निर्देशन रहेको आशंकासहित जेन्जी जाँचबुझ आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ।

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले आगजनी, तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति तथा जीवनमाथि आक्रमणजस्ता गतिविधिहरू स्वतःस्फूर्त नभई संगठित र निर्देशित हुनसक्ने दाबी गर्दै निष्पक्ष, वैज्ञानिक र प्रमाण–आधारित छानबिनको माग गरेका छन्।

निवेदनमा सार्वजनिक रूपमा उपलब्ध प्रत्यक्षदर्शी विवरण, दृश्य–श्रव्य सामग्री तथा सञ्चारमाध्यमका रिपोर्टहरू उद्धृत गर्दै घटनाको गहिरो फौजदारी अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ। विशेषतः पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र ओमप्रकाश अर्यालको सम्भावित भूमिकाबारे उठेका प्रश्नहरूको तथ्यपरक परीक्षण गर्न आयोगसँग माग गरिएको छ।

निवेदनमा भाद्र २४ गते युवाहरूलाई उद्देलित गर्दै देशलाई अशान्ति र हिंसामा धकेल्ने प्रयास भएको, जसले राज्यविहिनताको अवस्था सिर्जना गर्ने र सत्ताकु मनसाय बोकेको आशंका गरिएको उल्लेख छ। यस्तो गतिविधि योजनाबद्ध रूपमा राजनीतिक वा शक्ति–केन्द्रित उद्देश्यका लागि गरिएको हुनसक्ने दाबी निवेदनमा गरिएको छ।

छानबिनका मुख्य बुँदाहरूमा घटनाअघि कुनै बैठक, समन्वय वा रणनीति निर्माण भएको–नभएको परीक्षण, नेतृत्व वा परोक्ष/प्रत्यक्ष निर्देशनको पुष्टि, आगजनी र तोडफोड कसरी, कहाँ र कसको निर्देशनमा भयो भन्ने विस्तृत अनुसन्धान तथा सम्भावित अस्थिरता सिर्जना गर्ने डिजाइनको समीक्षा समावेश गरिएको छ। छानबिनबाट संलग्नता प्रमाणित भएमा प्रचलित कानुनअनुसार अभियोजन सिफारिस गर्न पनि आग्रह गरिएको छ।

निवेदकले आयोगलाई सबै सम्बन्धित व्यक्तिहरूलाई कानुनी प्रक्रियाअन्तर्गत बयानका लागि बोलाउने, पारदर्शी छानबिन अघि बढाउने र निष्कर्ष सार्वजनिक गर्ने माग गरेका छन्। उनका अनुसार, यस्ता गम्भीर आरोपहरूको सत्यता स्पष्ट पार्नु लोकतान्त्रिक शासनको आधारभूत दायित्व हो।

LEAVE A REPLY