
बालेन शाहको गीतले हल्लायो नेपाली समाज


‘आम नेपाली बुवा’ : मौन संघर्षको आवाज बनेको गीत
काठमाडौ महानगपालिको मेयर तथा चर्चित र्यापर एवम् सर्जक बालेन शाह ( बालेनको) को नयाँ गीत ‘आम नेपाली बुवा’ सार्वजनिक भएको छ।
बालेनले सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै युट्युबमा पनि उपलब्ध गराएका छन्। सार्वजनिक भएको केही घण्टामै गीतले हजारौँ प्रतिक्रिया, टिप्पणी र शेयर बटुलेको छ। दर्शक–श्रोताले गीतलाई ‘भावनात्मक’, ‘यथार्थपरक’ र ‘आम नेपालीको कथा बोलेको’ भन्दै प्रशंसा गरेका छन्।
नेपालको संगीत संसारमा गीतहरू धेरै आउँछन्, धेरै हराउँछन् पनि। तर कहिलेकाहीँ कुनै गीत केवल मनोरञ्जनका लागि होइन, समाजको ऐना बनेर आउँछ। बालेन शाह को नयाँ गीत ‘आम नेपाली बुवा’ त्यस्तै एउटा सिर्जना बनेर सार्वजनिक भएको छ।
चलचित्र झरीपछि को इन्द्रेणी को OST का रूपमा आएको यो गीतले नेपाली समाजमा सधैँ देखिँदै तर कम बोलिँदै आएको पात्र— बुवा—लाई केन्द्रमा राखेको छ। आमाको माया र त्यागबारे गीत, कविता र कथा प्रशस्त छन्, तर परिवारको जिम्मेवारी बोकेर मौन रूपमा संघर्ष गरिरहने बुवाको कथा प्रायः ओझेलमै पर्छ। ‘आम नेपाली बुवा’ ले यही मौनतालाई तोड्ने प्रयास गरेको देखिन्छ।
गीतमा न चर्को नारा छ, न बनावटी भावुकता। बरु, दैनिक जीवनको यथार्थ छ—घर चलाउन खाडी पस्ने बुवा, चाहना मारेर छोराछोरीको भविष्य हेर्ने बुवा, थकान लुकाएर मुस्कान दिने बुवा। यही सादगीले गीतलाई शक्तिशाली बनाएको छ। शब्दहरू सुन्दा धेरै नेपालीले आफ्नै बुवाको अनुहार देखेको महसुस गर्छन्।
सार्वजनिक भएको केही समयमै गीतले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाउनुको कारण पनि यही हो। मानिसहरूले यसमा संगीतभन्दा बढी अनुभूति भेटेका छन्। बालेनको सिर्जनामा देखिँदै आएको सामाजिक चेतना यो गीतमा अझ प्रस्ट देखिन्छ—कलालाई केवल लोकप्रियताका लागि होइन, प्रश्न उठाउने माध्यमका रूपमा प्रयोग गर्ने प्रयास।
‘झरीपछि को इन्द्रेणी’ नाम जस्तै, यो गीत पनि दुःख र संघर्षको झरीपछि देखिने आशाको इन्द्रेणी हो। आम नेपाली बुवाको पसिना, पीडा र मौन प्रेमलाई सम्मानका साथ प्रस्तुत गरिएको यो गीतले संगीतले समाजसँग कसरी संवाद गर्न सक्छ भन्ने कुरा सम्झाइदिएको छ।
यो गीत सुन्दा लाग्छ—कहिलेकाहीँ सबैभन्दा ठूलो आवाज मौनभित्रै लुकेको हुन्छ।











