रामेश्वर भण्डारी मैदानमा उत्रँदै, नुवाकोटको सत्ता राजनीतिमा कम्पन

0
294

नुवाकोट । यसपटक नुवाकोटको चुनाव सामान्य हुने छैन। मतदाताको मन र मत दुबैमा ठूलो हेरफेर देखिने निश्चितजस्तै छ। कारण एउटै छ—सचेत नागरिक अभियानका अध्यक्ष तथा जनपक्षीय अधिवक्ता रामेश्वर भण्डारीको राजनीतिक अग्रसरता।

लामो समयदेखि नुवाकोटको राजनीतिक विरासत एउटा सीमित धार र शक्तिकेन्द्र वरिपरि घुम्दै आएको थियो। तर अब त्यो एकाधिकार गम्भीर चुनौतीको सामना गरिरहेको छ। विद्यार्थी राजनीतिबाट संघर्षको बाटो हिँडेका भण्डारी नारा र भाषणका भरमा होइन, आचरण, त्याग र व्यवहारिक योगदानका आधारमा जनतामाझ स्थापित नेता हुन्।

सामाजिक क्षेत्रमा उनले गरेको काम नुवाकोटका नागरिकले प्रत्यक्ष अनुभूति गरेका छन्। अन्यायमा परेकाहरूका लागि आवाज उठाउने, पीडितलाई कानुनी न्याय दिलाउन अदालतदेखि सडकसम्म उभिने र सत्ता–शक्तिको दबाबसँग नझुक्ने साहस—यिनै कारण भण्डारीलाई आज जनताको भरोसाको प्रतीक मानिन थालिएको छ

विशेषगरी, नुवाकोटका नागरिकका हक–अधिकारका पक्षमा उनले गरेका कानुनी लडाइँहरूले धेरैलाई न्यायको अनुभूति गराएको छ। जहाँ राजनीति मौन थियो, त्यहाँ भण्डारी बोले; जहाँ डर थियो, त्यहाँ उनी उभिए। यही कारण उनको नाम अब विकल्प होइन, आवश्यकताका रूपमा लिन थालिएको छ।
अब नुवाकोटको चुनाव झण्डा र विगतको विरासतबीच सीमित छैन। यो चुनाव पुरानो सत्ता संरचना बनाम नयाँ जनचेतना बीचको टक्कर हो। इमान, योग्यता र जनताप्रतिको निष्ठाले जित्ने कि पुरानै शैली दोहोरिने—यसको फैसला नुवाकोटी जनताले गर्नेछन्। तर एउटा कुरा स्पष्ट छ, रामेश्वर भण्डारीको उपस्थितिले नुवाकोटको राजनीति हल्लिएको छ, र यो हल्ला परिवर्तनको संकेत हो।

LEAVE A REPLY