
तमु ल्होसार पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै


तमु ल्होसार : संस्कृति र एकताको रंगमा रंगिएको नेपाल
काठमाडौँ, पुस १५ (२०८२) । गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतमा तमु ल्होसार पर्व धुमधामका साथ मनाउँदै छन्।
‘ल्हो’ अर्थात् वर्ष र ‘सार’ अर्थात् फेरिने भएकाले वर्ष फेरिने यो दिनलाई तमु ल्होसार भनिन्छ। सूर्यको गति, ताप र प्रकृतिसँग जोडिएको यो पर्वले अन्धकारमाथि उज्यालोको विजयलाई पनि प्रतीक गर्छ, किनकि पुस १५ को रात वर्षको सबैभन्दा लामो रात मानिन्छ र त्यसपछि दिनहरू क्रमशः लम्बिँदै जान्छन्।
गुरुङ बाहुल्य जिल्लाहरू लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, मनाङ, पर्वतलगायतका क्षेत्रमा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। काठमाडौँ उपत्यकामा भने टुँडिखेलमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। परम्परागत भेषभूषामा सजिएका गुरुङहरूले घाटु, सोरठी, कौडा, चुद्का जस्ता लोकनृत्य प्रस्तुत गर्दै र्याली निकालेका छन् ।
यो पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बढाउने तथा राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
तमु ल्होसारले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई जीवन्त राख्दै सबै नेपालीलाई एकताबद्ध गर्ने सन्देश दिएको छ। गुरुङ समुदायका साथै सम्पूर्ण नेपालीमा तमु ल्होसारको हार्दिक मंगलमय शुभकामना !











