
कृषिमा क्रान्ति नगरे नुवाकोट झन् गरिब बन्छ — राजन गौतम


नुवाकोटको जनजीवन उकास्न स्थानीय निकायले कृषिमा गम्भीर बेवास्ता गरेको भन्दै प्रगतिशील लोकतान्त्रिक पार्टीका बागमती प्रदेश अध्यक्ष राजन गौतम (नकुल) ले कडा आक्रोश पोखेका छन्। काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालसम्मका नीति, योजना र बजेट वितरण किसानमुखी नभएको आरोप लगाउँदै स्थानीय सरकारहरूको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।
गौतमले नुवाकोटजस्तो कृषि सम्भावनायुक्त जिल्लामा अझै पनि परम्परागत खेतीमै किसान अल्झिन बाध्य हुनु लाजमर्दो अवस्था भएको बताए। “यहाँको माटो, हावापानी र भौगोलिक बनावट व्यावसायिक कृषिका लागि उपयुक्त छ, तर नेतृत्वको दृष्टि नपुग्दा किसान श्रम बेच्न बाध्य छन्,” उनको भनाइ छ।
उनले जनप्रतिनिधिहरूले भाषणमा मात्र कृषि प्राथमिकतामा राख्ने तर व्यवहारमा ठोस योजना नल्याएको आरोप पनि लगाए।
उनका अनुसार स्थानीय निकायले तत्काल तीन मुख्य योजना लागू गर्नुपर्ने स्पष्ट आवश्यकता छ। पहिलो, व्यावसायिक कृषि क्लस्टरको अवधारणा लागू हुनुपर्नेमा उनले जोड दिएका छन्। “माटो, मौसम र बजारको अध्ययन गरेर उत्पादन केन्द्रित क्षेत्र तोक्नुपर्छ, सहकारीमार्फत किसानलाई लगानी, प्रविधि र तालिम दिनुपर्छ,” गौतमले माग गरे। यसो नगरेसम्म कृषिमा आत्मनिर्भरता सम्भव नहुने उनको ठहर छ।
दोस्रो, सिँचाइ, भण्डारण र प्रशोधन पूर्वाधारमा राज्यको प्रत्यक्ष लगानी अपरिहार्य रहेको उनले बताएका छन्। लिफ्ट सिँचाइ, चिस्यान गृह र साना प्रशोधन उद्योग नहुँदा किसानले उत्पादन गरे पनि उचित मूल्य नपाउने अवस्था सिर्जना भएको भन्दै उनले आपत्ति जनाए। “खेती गरेपछि बेच्ने ठाउँ छैन, राख्ने ठाउँ छैन, प्रशोधन गर्ने संरचना छैन—यस्तो अवस्थामा किसान कसरी बाँच्ने?” भन्दै उनले प्रश्न उठाए।
तेस्रो, निश्चित बजार र मूल्य ग्यारेन्टीको व्यवस्था गर्न स्थानीय सरकार गम्भीर हुनुपर्ने गौतमको जोड छ। स्थानीय उत्पादनलाई विद्यालय, अस्पताल र सार्वजनिक संस्थासँग सम्झौता गरेर खरिद गर्ने व्यवस्था भए किसानलाई ढुक्क हुने वातावरण बन्ने उनले बताए। “बिचौलियाको भरमा किसानको भविष्य छोड्नु अपराध हो,” भन्दै उनले स्थानीय निकायसँग स्पष्ट नीति माग गरेका छन्।
यी तीन योजना प्रभावकारी रूपमा लागू भए रोजगारी सिर्जना, आम्दानी वृद्धि र खाद्य सुरक्षामा ठोस सुधार आउने गौतमको दाबी छ। अन्त्यमा उनले भने, “नुवाकोटलाई भाषण होइन, दृष्टि र साहस भएको नेतृत्व चाहिएको छ। जनजीवनसँग खेलवाड गर्ने प्रवृत्ति अब सह्य छैन











