
नुवाकोटमा ‘आँखा’ चिह्नको तुफान: पुराना दललाई चुनौती दिँदै राजन गौतम र रजमान तामाङको उम्मेदवारी दर्ता


नुवाकोटमा ‘आँखा’ चिह्नको तुफान: पुराना दललाई चुनौती दिँदै राजन गौतम र रजमान तामाङको उम्मेदवारी दर्ता
नुवाकोट । आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोट जिल्लामा नयाँ राजनीतिक हलचल देखिएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीले जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएपछि स्थानीय राजनीतिमा नयाँ तरंग पैदा भएको हो। ‘आँखा’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएको यो पार्टीले पुराना दलहरूलाई कडा चुनौती दिने दाबी गरेको छ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर क्षेत्र नम्बर १ बाट राजन गौतम (नकुल) र क्षेत्र नम्बर २ बाट रजमान तामाङले उत्साहपूर्वक उम्मेदवारी दर्ता गराउनुभएको हो। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दुवै उम्मेदवारले नुवाकोटलाई वर्षौंदेखि ‘सत्ता र स्वार्थको प्रयोगशाला’ बनाइएको भन्दै अब त्यो दिन सकिने उद्घोष गर्नुभयो। राजनीति फेरिए पनि र नेता बदलिए पनि नुवाकोटको भाग्य नबदलिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे।
“वर्षौंदेखि सडकहरू अझै धुलाम्य छन्, युवाहरू जिल्लामै रोजगारीको अभावमा विदेश पलायन भइरहेका छन्, तर नेताहरू केवल भाषणमै सीमित रहे,” उम्मेदवार राजन गौतमले भन्नुभयो, “अब भाषण र आश्वासनको होइन, वास्तविक परिवर्तनको समय आएको छ।” यस्तै, रजमान तामाङले पनि पुराना दलहरूले विकासको नाममा केवल घोषणा मात्र गर्ने गरेको भन्दै किसानहरू उपेक्षित रहेको र भ्रष्टाचार मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो।
प्रगतिशील लोकतान्त्रिक पार्टीले युवालाई रोजगारी, किसानलाई सम्मान, स्थानीय स्रोतलाई प्राथमिकता र भ्रष्टाचारमा शून्य सहनशीलतालाई आफ्नो मुख्य अडान बनाएको छ। धुलाम्य सडक, बेरोजगारी र उपेक्षाको विरुद्धमा यो पार्टी आज नुवाकोटमा बलियो राजनीतिक विकल्प बनेर उभिएको स्थानीयहरूको बुझाइ छ।
उम्मेदवार द्वयले नुवाकोटका सम्पूर्ण मतदाताहरूलाई अपिल गर्दै भन्नुभयो, “अब मतपत्रमा रहेको ‘आँखा’ चुनाव चिह्नमा विवेक पुर्याई युवा नेतृत्वलाई मतदान गर्ने बेला आएको छ। आंखाले मत पत्र हेरौं र आंखामा मतदान गरौं।” स्थानीय स्तरमा यो पार्टी र यसका युवा उम्मेदवारहरूप्रति उत्साहजनक प्रतिक्रिया देखिएको छ। पुराना दलहरूको प्रभाव रहेको नुवाकोटमा वैकल्पिक शक्तिको रूपमा उदाएको यो दलले मतदाताहरूमा नयाँ आशा जगाएको छ। फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा नुवाकोटको राजनीतिक माहोल अब थप रोचक बन्दै गएको छ।











