अप्रत्याशित हिमपातले ढोरपाटन क्षेत्र ठप्प, किसान र स्थानीय मारमा

0
20

अप्रत्याशित हिमपातले ढोरपाटन क्षेत्र ठप्प, किसान र स्थानीय मारमा
२०८२ /१२/७/   शनिवार-    बागलुङको उच्च पहाडी भेगमा परेको असामान्य हिमपातले जनजीवन अस्तव्यस्त बनेको छ। विशेषगरी ढोरपाटन सिकार आरक्ष आसपासको क्षेत्र पूरै हिउँले ढाकिँदा स्थानीय बासिन्दा दैनिक कामकाज गर्नै कठिन अवस्थामा पुगेका छन्।
शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपात रातभर जारी रहँदा गाउँघरका बाटाघाटा बन्दजस्तै भएका छन्। हिँडडुल गर्न गाह्रो मात्र होइन, पशुचौपायालाई आहार जुटाउनसमेत समस्या भएको स्थानीयको गुनासो छ।
केही दिनदेखि परेको वर्षापछि अचानक मौसम फेरिँदा हिमपात भएको बताइएको छ। यसले विशेषगरी कृषकहरूलाई ठूलो असर पारेको छ। आलु रोप्ने तयारीमा रहेका किसानहरू कामै रोक्न बाध्य भएका छन्। विभिन्न गाउँबाट ढोरपाटन पुगेका कृषकहरू अहिले हिउँका कारण अलपत्रजस्तै बनेका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार चैत महिनामा यसरी निरन्तर र बाक्लो हिमपात हुनु अस्वाभाविक हो। बढ्दो चिसोका कारण घरबाहिर निस्कनै कठिन भएको छ भने रातको समय झन् कष्टकर बन्दै गएको छ।
चिसो र हिमपातका कारण दैनिक जनजीवन मात्र होइन, पशुपालन र कृषिजन्य गतिविधिसमेत प्रभावित भएका छन्। स्थानीय तहले आवश्यक सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ।

LEAVE A REPLY