
डढेलो लगाउनेलाई जेल र जरिवाना: रुवी भ्याली गाउँपालिकाद्वारा कडा चेतावनी


डढेलो लगाउनेलाई जेल र जरिवाना: रुवी भ्याली गाउँपालिकाद्वारा कडा चेतावनी
धादिङ । सुख्खायाम सुरु भएसँगै वन डढेलोको जोखिम बढ्दै गएपछि धादिङको रुवी भ्याली गाउँपालिकाले डढेलो नियन्त्रणका लागि विशेष सक्रियता देखाएको छ। गाउँ कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै वन क्षेत्रमा डढेलो नलगाउन र लागेको खण्डमा तत्काल नियन्त्रणमा सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेको हो।
गाउँपालिकाले डढेलो लगाउने कार्यलाई ‘कानुनी अपराध’ को रूपमा व्याख्या गर्दै यस्तो कार्य गर्ने वा दुरुत्साहन गर्ने जोकोहीलाई वन ऐन बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ। सूचना अनुसार, डढेलो लगाएको पुष्टि भएमा विगो असुल गरी १० हजार रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ।
वातावरण र जैविक विविधतामा खतरा
हावाहुरी चल्ने यो समयमा अकस्मात् लाग्ने डढेलोले वन पैदावार मात्र नभई वन्यजन्तु, चराचुरुङ्गी र समग्र पारिस्थितिकीय प्रणालीमा ठूलो क्षति पुर्याउने गाउँपालिकाको ठहर छ। “सुख्खा मौसममा सानो लापरवाहीले पनि विशाल रूप लिन सक्छ, जसले हाम्रो प्राकृतिक सम्पदा सखाप पार्छ,” सूचनामा उल्लेख छ। गाउँपालिकाले जैविक विविधताको संरक्षणका लागि स्थानीय वन उपभोक्ता समूह र सर्वसाधारणलाई चौबीसै घण्टा सजक रहन आग्रह गरेको छ।
विगतको तथ्यांक डरलाग्दो
डिभिजन वन कार्यालयको तथ्यांक अनुसार यस वर्ष मात्रै जिल्लाका पाँच वटा सामुदायिक वनमा डढेलो लागिसकेको छ। गत वर्ष जिल्लाभर २३ वटा वनमा डढेलो लागेको आधिकारिक रेकर्ड भए तापनि वास्तविक संख्या त्योभन्दा निकै बढी रहेको अनुमान छ। वन कार्यालयका प्रमुख पोखरेलका अनुसार, डढेलो नियन्त्रणका लागि कानुनी व्यवस्था भए पनि व्यवहारमा कारबाहीको दर कम भएकाले डढेलो लगाउने क्रम नरोकिएको हो।
रुवी भ्याली गाउँपालिकाले कतै डढेलो लागेको देखेमा तत्काल नजिकको वन कार्यालय, सुरक्षा निकाय वा गाउँपालिकालाई जानकारी गराउन र उपलब्ध स्रोत साधन प्रयोग गरी आगो निभाउन सक्रियता देखाउन स्थानीयवासीलाई अपिल गरेको छ।











