उपभोक्ता समितिमा किर्ते: बसाइँसराइ नै नगरी प्याकुरेल बने उपाध्यक्ष, खारेजीको माग गर्दै गाउँपालिकामा उजुरी

0
120

माघ १९,  नुवाकोट। पञ्चकन्या गाउँपालिका वडा नं. १ अन्तर्गत सञ्चालनमा रहेको “औपचार फुँयालडाँडा चिलिमे खोला–खनिखोला बाँझोला खोली नियन्त्रण कार्यक्रम” का लागि गठन गरिएको उपभोक्ता समितिमा गम्भीर अनियमितता भएको आरोप सार्वजनिक भएको छ।


स्थानीयका अनुसार बिदुर नगरपालिका निवासी उत्तम प्याकुरेलले पञ्चकन्या गाउँपालिकामा बसाइँसराइ नगरी उपभोक्ता समितिमा पहिले सचिव र पछि उपाध्यक्ष पद ओगटेको आरोप छ। उपभोक्ता समिति गठन गर्दा स्थानीय उपभोक्ताको प्रत्यक्ष सहभागिता र बसोबास अनिवार्य हुने कानुनी व्यवस्था विपरीत उक्त नियुक्ति गरिएको भन्दै स्थानीय असन्तुष्ट छन्।

त्यस्तै, अघिल्लो आर्थिक वर्षमा कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट करिब ५० हजार रुपैयाँ व्यक्तिगत रूपमा जाली ढंगले बाँडिएको तथा वास्तविक आवश्यकताका क्षेत्रमा बजेट नहालिएको गुनासो समेत उठेको छ। स्थानीयले आवश्यक स्थानमा काम नहुँदा कार्यक्रमको उद्देश्य नै प्रभावित भएको बताएका छन्।
यस्ता अनियमितता र व्यक्ति विशेष तथा स्वार्थ समूहको मनोमानीका कारण वास्तविक उपभोक्ताको हितमा काम हुन नसकेको ठहर गर्दै पूर्वगठित उपभोक्ता समिति खारेज गरी विधिसम्मत, पारदर्शी र स्थानीय सहभागितामा आधारित नयाँ उपभोक्ता समिति गठन गर्न माग गर्दै पञ्चकन्या गाउँपालिकामा निवेदन पेश गरिएको छ।.


स्थानीयवासीहरूले यस विषयमा गाउँपालिका र सम्बन्धित निकायले छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र कार्यक्रमलाई सही दिशामा लैजानुपर्ने माग गरेका छन्।

LEAVE A REPLY