
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु


काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु
काठमाडौं, १ वैशाख २०८३ । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आजदेखि उपत्यकामा रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएको छ ।
नयाँ वर्ष २०८३ को अवसरमा सुरु गरिएको यो सेवाले राति ८ बजेपछि यातायातको अभावमा परेका सर्वसाधारण, महिला, विद्यार्थी र कामदारहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ ।
सेवा बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । सुरुवाती चरणमा दुई मुख्य रुटमा विद्युतीय बसहरू चल्ने छन् ।
पहिलो रुट लगनखेलबाट बुढानीलकण्ठसम्म (उत्तर–दक्षिण) छ । यो रुटले पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठ पुग्छ । दोस्रो रुट थानकोटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म (पूर्व–पश्चिम) छ । यसले सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन, तीनकुने हुँदै विमानस्थल जोड्छ ।
प्रत्येक बस स्टपमा हरेक २० मिनेटको अन्तरालमा बस उपलब्ध हुने व्यवस्था गरिएको छ । सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । प्रत्येक बसमा सीसीटीभी क्यामेरा जडान गरिएको छ भने नगर प्रहरी खटाइएको छ । महानगरका अनुसार सुरुमा ४ देखि ७ वटा विद्युतीय बस सञ्चालन हुनेछन् । यात्रुहरूको सुविधाका लागि भाडादर पनि उचित राखिने जनाइएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, “बेलुका ८ बजेपछि सार्वजनिक यातायात नहुँदा महँगो ट्याक्सी चढ्नुपर्ने बाध्यता थियो । यसले सर्वसाधारणलाई असुविधा र सुरक्षा जोखिम बढाएको थियो । रात्रिकालीन बसले यातायातलाई व्यवस्थित, सुलभ र सुरक्षित बनाउने छ ।” यो सेवा क्रमशः विस्तार गर्दै थप रुट र समय थपिने योजना छ ।
उपत्यकावासीहरूले यो सेवालाई स्वागत गरेका छन् । विशेष गरी राति काम गरेर फर्किनेहरू र महिलाहरूले राहत महसुस गरेको प्रतिक्रिया आएको छ । सेवा सुरु भएको पहिलो दिन भएकाले केही व्यावहारिक समस्या आउन सक्ने भए पनि महानगर र साझा यातायातले निरन्तर अनुगमन गर्ने बताएका छन् ।











