
काठमाडौं–७ मा ज्वाला उठेपछि राजनीति तातियो, रास्वपा दबाबमा


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को राजनीतिक वातावरण निकै रोचक बन्दै गइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो आधार मानिएको सो क्षेत्रमा शिव कोइराला (ज्वाला) उठ्ने चर्चाले निर्वाचन क्षेत्रमा निकै तरंग छाएको हो। २०७९ सालको निर्वाचनमा रास्वपाका गणेश पराजुलीले यस क्षेत्रबाट विजय हासिल गरेका थिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई पराजित गर्दै उनले नयाँ दलको उदयलाई प्रमाणित गरेको जानकारहरु बताउँछन् । उक्त निर्वाचनमा पराजुलीले ८,७४३ मत प्राप्त गरेका थिए भने मानुषी यमी भट्टराईले ६,०६३ मत पाएकी थिइन्, जसका कारण उनी २,६८० मतको अन्तरले पराजित भइन्।
तर यसपटकको उपनिर्वाचनमा पराजुलीको स्थानमा नयाँ अनुहार आउने सम्भावना कम देखिएको छ भने नेपाली कम्युनिस्ट पार्टीले ‘ज्वाला’ लाई अघि सार्ने तयारी गरेको चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ।
स्याङ्जाको भिरकोटमा जन्मिएका शिव कोइराला ‘ज्वाला’ जनयुद्धको समयमा पूर्णकालीन छापामार लडाकुका रूपमा सक्रिय थिए। २०५४ सालतिर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मा जोडिएका उनी संघर्षको कठिन मोर्चामा खारिएका नेता मानिन्छन्। अनुशासन, साहस र संगठनात्मक क्षमताका कारण पार्टीभित्र उनको छवि बलियो छ। शान्ति प्रक्रियापछि मुख्यधारा राजनीतिमा आएका ज्वालाले काठमाडौं जिल्लामा युवा संगठन वाइसीएलको अध्यक्षको जिम्मेवारी सम्हाले। त्यसबेला उनले उपत्यकामा मौलाएका माफिया, तस्कर, गुण्डागर्दी र रक्तचन्दनको अवैध कारोबारविरुद्ध कडा अभियान चलाए। सुरक्षानिकायसँग समन्वय गर्दै अपराध सञ्जालमाथि प्रहार गरेका कारण युवावर्गमा उनी लोकप्रिय बने। विवादरहित र कठोर नेतृत्वको छविले उनलाई फरक पहिचान दिएको छ।
राजनीतिसँगै प्रशासनिक अनुभव पनि ज्वालाको बलियो पक्ष हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षको रूपमा झण्डै पाँच वर्ष जिम्मेवारी सम्हाल्दा उनले खेल पूर्वाधार विकास, खेलाडी कल्याण र संस्थागत सुधारमा उल्लेखनीय योगदान दिए। खेलकुद क्षेत्रका जानकारहरूका अनुसार ज्वालाले राखेपलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
रास्वपाको प्रभाव मजबुत रहेको काठमाडौं–७ मा ज्वालाको प्रवेशले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यो क्षेत्र शहरी मतदाताको बाहुल्य रहेको र युवा तथा मध्यमवर्गको प्रभाव बढी हुने भएकाले दुवै पक्षका उम्मेदवारले वैकल्पिक एजेन्डा अघि सार्नुपर्ने दबाब छ।
ने.क.पाले ‘ज्वाला’ लाई उम्मेदवार बनाएमा सत्तागठबन्धनको समर्थनसमेत प्राप्त हुने सम्भावना बलियो बन्दै गएको छ, जससँगै यसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकलौटी प्रभावलाई चुनौती दिन सक्ने संकेत देखिएको छ।











