
नदी किनारमा भवन निर्माण खुल्यो, काठमाडौँ महानगरले हटायो प्रतिबन्ध


नदी किनारमा भवन निर्माणको प्रतिबन्ध हट्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनारका जग्गामा भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ ।
महानगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको पछिल्लो आदेशलाई कार्यान्वयन गर्दै नदीको दायाँ–बायाँ निजी जग्गामा भवन निर्माण अनुमति (नक्सा पास) फुकुवा गरिएको जनाएको हो ।
यसअघि महानगरपालिकाले नदी किनारको मापदण्ड परिमार्जन गर्दै थप २० मिटर जग्गा छोड्नुपर्ने व्यवस्था लागू गरेको थियो । उक्त मापदण्डका कारण नदी आसपासका क्षेत्रका धेरै जग्गामा नक्सा पास रोक्का हुनुका साथै निर्माण कार्यसमेत ठप्प भएको थियो । जग्गाधनी तथा घर निर्माणको तयारीमा रहेका नागरिकहरू लामो समयदेखि अन्योलमा परेका थिए ।
महानगरपालिकाले बुधबार जारी गरेको सूचनामा सर्वोच्च अदालतको आदेशअनुसार अब निजी स्वामित्वका जग्गामा भवन निर्माण रोक्न नपाइने स्पष्ट पारेको छ । सोही आधारमा नदी किनार क्षेत्रभित्र रहेका निजी जग्गामा समेत प्रचलित कानुन र स्वीकृत मापदण्डअनुसार नक्सा पास प्रक्रिया अघि बढाइने जनाइएको छ ।
महानगरका अनुसार वातावरण संरक्षण, नदीको प्राकृतिक बहाव तथा सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै अन्य प्रावधान भने यथावत् रहनेछन् । तर, अतिरिक्त २० मिटर जग्गा छोड्नुपर्ने कारण देखाएर निजी जग्गामा पूर्ण रूपमा निर्माण रोक लगाइने अवस्था अब नहुने स्पष्ट गरिएको छ ।
निर्माण प्रतिबन्ध फुकुवा भएसँगै लामो समयदेखि रोकिएका आवासीय तथा व्यावसायिक भवन निर्माणले गति लिने अपेक्षा गरिएको छ । यसले घरजग्गा क्षेत्रका व्यवसायी, जग्गाधनी तथा निर्माण क्षेत्रमा संलग्न श्रमिकहरूलाई समेत राहत पुग्ने विश्वास लिइएको छ ।











