
नागरिक अभियान मंचका १५० भन्दा बढी जेन–जी युवा नेकपामा प्रवेश


काठमाडौं ।
नागरिक अभियान मंचका सक्रिय १५० भन्दा बढी जेन–जी युवाहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उक्त अभियानको नेतृत्व अभियानका अध्यक्ष अर्जुन बोगटीले गरेका हुन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले स्वागत गरे।कार्यक्रममा पार्टीका नेताहरु नारायणकाजी श्रेष्ठ, चिरन सी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धिलाई सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताए। उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी गरे।
दाहालले जेन–जी युवाहरूले आफ्ना विचार, भावना र आकांक्षालाई सही ढङ्गले प्रतिनिधित्व गर्न सक्ने राजनीतिक शक्ति नेकपा नै भएको निष्कर्षमा पुग्न थालेको उल्लेख गर्दै युवाहरूको सक्रिय सहभागिताले पार्टीलाई थप ऊर्जावान बनाएको बताए।
सो अवसरमा पत्रकार शिव अधिकारी र सहिद परिवारकी इन्द्रकला राईले पनि नेकपामा प्रवेश गरेका छन्। कार्यक्रमको सञ्चालन पार्टीका नेता जितेन्द्र दाहालले गरेका थिए।











