
नुवाकोटमा आलु उत्पादन छ, तर ब्रान्डिङ र बजार छैन


२०८२ पुस २५ गते, जनवरी ९
नुवाकोट – बागमती प्रदेशका प्रमुख राजन गौतम (नकुल) ले आलु उत्पादनका लागि सम्भावनायुक्त जिल्ला नुवाकोटमा उत्पादनपछि हुने व्यवस्थापन, ब्रान्डिङ र प्रशोधनको अभाव गम्भीर समस्याका रूपमा देखिएको बताएका छन्। उनले नुवाकोटमा उत्पादन हुने आलु गुणस्तरीय भए पनि उचित बजार र मूल्य नपाउँदा किसान निराश हुनुपरेको अवस्था औँल्याएका छन्।
प्रदेशस्तरीय कृषि सरोकारवालासँगको छलफलमा बोल्दै प्रमुख गौतमले नुवाकोटका ककनी, लिखु, तादी, शिवपुरीलगायत क्षेत्रमा आलु प्रमुख नगदे बालीका रूपमा स्थापित भए पनि कच्चा रूपमा बिक्री गर्न बाध्य हुनु किसानको साझा समस्या रहेको बताए। “यहाँ उत्पादन क्षमता बलियो छ, तर मूल्य शृंखला कमजोर छ,” उनले भने, “प्रशोधन उद्योग र ब्रान्डिङको अभावले किसानको मेहनतको उचित मूल्य सुनिश्चित हुन सकेको छैन।”
उनका अनुसार नुवाकोटमा आलुबाट चिप्स, फ्लेक्स, स्टार्च, पाउडरजस्ता बाइ–प्रडक्ट उत्पादन गर्ने साना तथा मझौला उद्योग स्थापना गर्न सकिए रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बन्ने सम्भावना छ। तर दीर्घकालीन योजना, लगानीमैत्री नीति र प्रविधि हस्तान्तरण नहुँदा ती सम्भावना प्रयोगमै आउन सकेका छैनन्।
प्रमुख गौतमले उत्पादन सिजनमा भण्डारणको अभाव, कोल्ड स्टोरको न्यून उपलब्धता र बजारसँग प्रत्यक्ष पहुँच नहुनु नुवाकोटका किसानका ठूला समस्या रहेको बताए। यसकै कारण सिजनमा मूल्य खस्ने र बिचौलियाले फाइदा लिने अवस्था दोहोरिने गरेको उनको भनाइ छ।
उनले कृषि क्षेत्रमा पुरानो सोच र जड कार्यशैलीले अब काम नगर्ने स्पष्ट गर्दै वैज्ञानिक योजना, सहकारी मोडेल, निजी क्षेत्रको सहभागिता र प्रदेश–स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए। “उत्पादनबाटै समृद्धि निर्माण गर्ने हो भने अब सोच बदल्नैपर्छ,” प्रमुख गौतमले भने, “नुवाकोट त्यसको सुरुवाती केन्द्र बन्न सक्छ।”











