नुवाकोटमा विकासको माग गर्दै सामाजिक अभियान्ता राजु राईको आक्रोश

0
16

नुवाकोटमा विकासको माग गर्दै सामाजिक अभियान्ता राजु राईको आक्रोश

नुवाकोट । नुवाकोट जिल्लामा सडक पूर्वाधार, सिँचाइ सुविधा, रासायनिक मलको अभाव र कृषि उत्पादनको उचित बजार व्यवस्थापन नहुँदा स्थानीय जनता दीर्घकालीन विकासबाट वञ्चित बन्दै गएका छन्। यिनै समस्याको विरोधमा सामाजिक अभियान्ता राजु राईले सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै प्रभावकारी विकासका लागि जोडदार माग गरेका छन्।

राजु राईका अनुसार काठमाडौं–नुवाकोट जोड्ने करिब ७५ किलोमिटर मुख्य सडक खण्डमा हालसम्म जम्मा २–३ किलोमिटर मात्र पिच भएको छ। “जनताको कर र भोटको मूल्य देखावटी सडक निर्माणमा मात्र सीमित गर्न खोजिएको छ,” उनले भने। सडक, सिँचाइ र मलजस्ता आधारभूत आवश्यकता पूरा नहुँदा किसान र स्थानीयको दैनिकी कष्टकर बनेको उनको भनाइ छ।
कृषि क्षेत्रको अवस्था झनै चिन्ताजनक छ। नुवाकोटका किसानले आलुजस्ता मुख्य बाली उत्पादन गरे पनि बिक्रीको उचित बजार नपाउँदा घाटा बेहोर्न बाध्य छन्।

मल र सिँचाइको अभावले उत्पादनमा कमी आएको तथा बजार पहुँचको समस्या थपिँदा किसान मारमा परेका छन्। “उत्पादन हुन्छ तर बजार छैन। किसानको घाटा सरकार र नेतृत्वले बुझ्नैपर्छ,” राईले बताए।
पर्यटनको ठूलो सम्भावना बोकेको नुवाकोटमा ऐतिहासिक, प्राकृतिक र धार्मिक स्थलहरू प्रशस्त छन्। यिनलाई पर्यटन विकासमार्फत आर्थिक अवसरमा बदल्न सकिने भए पनि पूर्वाधार अभाव र प्राथमिकताको कमीले प्रगति हुन नसकेको उनको गुनासो छ।

जिल्लामा अवैध खानी सञ्चालनको विषय पनि चर्चामा छ। राईका अनुसार वडा अध्यक्षदेखि गाउँपालिका अध्यक्ष र सांसद स्तरसम्मको संरक्षणमा अवैध उत्खनन भइरहेको स्थानीयको आरोप छ। ठेक्कापट्टा र बिचौलियाको मिलेमतोले यो समस्या नियन्त्रणमा नआएको उनीहरू बताउँछन्।
राजु राईले जनतालाई सचेत गराउँदै भने, “अब विकासको नाममा देखावटी काम गर्ने र ठग्ने नेता तथा पार्टीलाई भोट नदिनुहोस्। नुवाकोटको दीर्घकालीन विकास, कृषि र पर्यटन क्षेत्रको उन्नतिका लागि नेतृत्व जिम्मेवार बन्नुपर्छ।”

उनले स्थानीय प्रशासन र सांसदहरूलाई तत्काल प्रभावकारी विकास योजना ल्याउन, सडक निर्माण, सिँचाइ तथा मल आपूर्ति सुनिश्चित गर्न र अवैध खानीमाथि नियन्त्रण गर्न आह्वान गरेका छन्। राईको अभियानले जिल्लावासीमा सचेतना बढाएको र नेतृत्वको कामको वास्तविक मूल्यांकन गरेर मात्र भोट दिने सोच विकास भएको स्थानीयहरू बताउँछन्।

LEAVE A REPLY