
पृथ्वी जयन्तीको अवसरमा देवीघाटलाई ‘राजघाट स्थापना दिवस’ घोषणा गर्न माग


काठमाडौं, पौष २७ –नुवाकोट — महान् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पावन जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नुवाकोटको देवीघाटस्थित उहाँको समाधि स्थललाई ‘राजघाट स्थापना दिवस’ का रूपमा राष्ट्रिय स्तरमा घोषणा गर्न सामाजिक अभियान्ता चन्द्र प्रकाश पुरुषले जोडदार माग गरेका छन्।
आज शुभकामना सन्देश जारी गर्दै अभियान्ता पुरुषले देवीघाट नेपालको एकीकरण अभियानसँग अटुट रूपमा जोडिएको ऐतिहासिक स्थल भएकाले यसलाई राष्ट्रिय पहिचान दिनु अपरिहार्य रहेको बताएका छन्। उनका अनुसार देवीघाट केवल समाधि स्थल मात्र नभई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अतुलनीय योगदानलाई स्मरण गराउने पवित्र तीर्थस्थल हो।
“देवीघाट नेपालको एकीकरण इतिहासको अमर साक्षी हो। यस स्थललाई राष्ट्रिय स्तरमै पहिचान दिलाउनु राष्ट्रनिर्माताप्रतिको सच्चा सम्मान हुनेछ,” अभियान्ता पुरुषले भने।
उनले पृथ्वीनारायण शाहको चर्चित वाणी “घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्” लाई स्मरण गर्दै वर्तमान समाजमा यसको सान्दर्भिकता झनै बढेको उल्लेख गरेका छन्। भ्रष्टाचार र अनैतिकताले राष्ट्रिय एकता तथा सुशासनलाई कमजोर बनाइरहेकाले यसको अन्त्यका लागि सामूहिक चेतना र दृढ प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ।
देवीघाटलाई ‘राजघाट स्थापना दिवस’ का रूपमा मनाउन थालिएमा नयाँ पुस्तामा राष्ट्रिय गौरव र एकताको भावना जागृत हुने विश्वास उनले व्यक्त गरे। साथै, यसले ऐतिहासिक स्थलको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अभियान्ता चन्द्र प्रकाश पुरुषले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, सदाचार र राष्ट्रहितलाई सर्वोपरि राख्दै अघि बढ्न आह्वान गरेका छन्।











