नुवाकोटको विकास असम्भव छैन, हाम्रो पालामै हुन्छ : राजन गौतम (नकुल)

0
65

नुवाकोटको विकास असम्भव छैन, हाम्रो पालामै हुन्छ : राजन गौतम ‘नकुल’

काठमाडौं, १९ पुस । प्रगतिशील लोकतान्त्रिक पार्टीका बागमती प्रदेश अध्यक्ष राजन गौतम (‘नकुल’)ले नुवाकोटको विकास पछाडि पर्नुमा विगतका राजनीतिक नेतृत्व नै मुख्य रूपमा जिम्मेवार रहेको बताएका छन्।

सामाजिक संजाल फेसबुकमा लेख्दै   उनले दीर्घकालीन सोच र जनमुखी योजनाको अभाव, सम्भावनाको सही उपयोग नगर्नु तथा जवाफदेहिताविहीन नेतृत्वका कारण नुवाकोटले अपेक्षित प्रगति गर्न नसकेको आरोप लगाए। गौतमका अनुसार कृषि, पर्यटन, जलस्रोत र ऐतिहासिक–सांस्कृतिक सम्पदाजस्ता पर्याप्त सम्भावना हुँदाहुँदै पनि नीति निर्माण र कार्यान्वयन कमजोर रहँदा जिल्लाको विकास अवरुद्ध भएको हो। “सम्भावना हुँदाहुँदै अवसर गुमाउनु नेतृत्वको असफलता हो,” उनले भने, “अब व्यक्तिभन्दा मुद्दा केन्द्रमा राखेर विकासको स्पष्ट रोडम्याप आवश्यक छ।”

उनले आगामी दिनमा युवाकेन्द्रित रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, पारदर्शी बजेट कार्यान्वयन र स्थानीय तह–प्रदेश–केन्द्रबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। साथै, जनताले अब विगतको समीक्षा गर्दै जिम्मेवार नेतृत्व चयन गर्नुपर्ने समय आएको उनको भनाइ छ।

यी समस्या समाधान गर्न सकिने स्पष्ट पार्दै अध्यक्ष गौतमले इमानदार, दूरदर्शी, जनउत्तरदायी र कार्यमुखी नेतृत्वको आवश्यकता रहेको बताए  “नुवाकोटको विकास असम्भव होइन। सही नेतृत्व, योजनाबद्ध विकास, पारदर्शी प्रशासन र स्थानीय स्रोतको सदुपयोगबाट समग्र परिवर्तन सम्भव छ,” उनले दाबी गरे।
उनले अन्त्यमा जोडका साथ भने, “हामी नुवाकोटलाई विकास गर्न सक्छौं। हाम्रो पालामै यो सम्भव छ। नेतृत्व बदलियो भने नियति पनि बदलिन्छ।”

LEAVE A REPLY