
नुवाकोटमा इन्द्रायणी माध्यमिक विद्यालयको ३७औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न


नुवाकोटको पञ्चकन्या गाउँपालिकामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले आफ्नो ३७औँ स्थापना दिवस शुक्रबार भव्य समारोहसहित मनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रहेका थिए। उपाध्यक्ष बिमला पाठक केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, वडा अध्यक्ष महानन्द ढकाल तथा कलाकार अर्जुन भुसाल र सबिता ढुंगानाको विशेष उपस्थितिमा कार्यक्रम उल्लासपूर्ण बनेको थियो।
उत्सवका अवसरमा विद्यार्थीहरूले विज्ञान तथा कृषि प्रविधिसम्बन्धी आकर्षक प्रदर्शनी प्रस्तुत गरेका थिए। साथै विद्यार्थी तथा शिक्षकहरूले विविध कला, नृत्य, संगीत र अन्य प्रतिभा प्रदर्शन गरी कार्यक्रमलाई अझै रंगीन बनाएका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार पाठकले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको गतिविधि, उपलब्धि, विश्लेषण, आय–व्यय तथा आगामी रणनीतिहरू सार्वजनिक गरे। साथै विद्यालयको जग्गा खरिदका लागि सञ्चालन गरिएको चन्दा अभियानका सहयोगीहरूलाई अध्यक्ष तामाङले सम्मान गरेका थिए। उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने छात्र–छात्रालाई पनि पुरस्कार प्रदान गरिएको थियो।
पञ्चकन्या गाउँपालिकाले इन्द्रायणी माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्दै लैजाने योजनाअनुसार विद्यालयले पछिल्ला वर्षहरूमा गुणस्तरीय शिक्षा, प्राविधिक सीप र समग्र शैक्षिक सुधारमा उल्लेखनीय प्रगति गरेको बताइएको छ।











