
नेकपा (बहुमत) सहित ५ पार्टीको बहिष्कारले निर्वाचनमा कस्तो असर पार्ला?


काठमाडौँ । नेकपा (बहुमत) सहितका पाँच क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले वर्तमान संसदीय व्यवस्थाको निर्वाचनलाई ‘निकासबिहीन’ भन्दै सशक्त बहिष्कार गर्ने निर्णय गरेका छन्। केन्द्रीय संघर्ष समितिले बिहीबार काठमाडौँमा एक कार्यक्रम गरी निर्वाचन बहिष्कारका लागि शृङ्खलाबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो।
संघर्ष समितिले पुस २९ को बन्दलाई सफल भएको दाबी गर्दै माघ ५ गतेको प्रदर्शनले निर्वाचनमा झनै ठूलो नैतिक र राजनीतिक दबाब सिर्जना गर्ने विश्वास लिएको छ। यी कार्यक्रमहरूले निर्वाचनको सुरक्षा चुनौती मात्र नभई, व्यवस्थामाथिको प्रश्नलाई पनि सडकमा ल्याएको छ।
निर्वाचनको औचित्यमाथि प्रश्न उठाउँदै माघ २ गते देशका मुख्य शहरहरूमा अन्तरक्रिया गरिने र माघ ५ गते देशव्यापी जनप्रदर्शन गर्ने संघर्ष समितिले जनाएको छ।
नेपालको वर्तमान संसदीय व्यवस्थाले जनताको आधारभूत समस्या समाधान गर्न नसकेको र निर्वाचनले केवल सत्ताको अनुहार मात्र फेर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको ठहर छ। नेकपा (बहुमत) सहितका दलहरूले यो निर्वाचनलाई ‘दलाल संसदीय व्यवस्थालाई वैधानिकता दिने प्रपञ्च’ को संज्ञा दिएका छन्।
संघर्ष समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मुलुकलाई निकास दिन नसक्ने यो संसदीय प्रहसनमा सामेल हुनुभन्दा यसको सक्रिय बहिष्कार गरी जनताको आफ्नै व्यवस्था स्थापनाका लागि संघर्ष गर्नु आजको आवश्यकता हो।”
पाँच पार्टीको यो घोषणासँगै सुरक्षा निकायले सतर्कता बढाएको छ। विशेष गरी मसाल जुलुस र उपत्यका बन्दका क्रममा हुन सक्ने सम्भावित मुठभेडलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको स्रोतले जनाएको छ।











