पैसा नभएकै कारण उपचार रोकिनु हुँदैन : रामेश्वर भण्डारी

0
40

काठमाडौँ । सचेत नागरिक अभियानका अध्यक्ष एवम् अधिवक्ता रामेश्वर भण्डारी ले जति ठूला र गम्भीर रोग लागे पनि राज्यले शतप्रतिशत निःशुल्क उपचारको जिम्मा लिनुपर्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।

उहाँले स्वास्थ्य सेवा व्यापार होइन, नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै क्यान्सर, मुटु, मिर्गौला, कलेजो, मस्तिष्कसम्बन्धी रोग, दुर्घटनाजन्य गम्भीर चोट तथा दीर्घकालीन रोगको उपचारमा कुनै पनि नागरिकले खर्चको कारण उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो।

आइतबार काठमाडौँमा आयोजित एक सचेतना कार्यक्रममा अध्यक्ष भण्डारीले भन्नुभयो, “देशमा अहिले पनि हजारौँ नागरिक पैसा नभएकै कारण उपचार नपाई अकालमा ज्यान गुमाइरहेका छन्। यो अवस्था बदल्न अब राज्यले गम्भीर रोगको उपचार पूर्ण रूपमा निःशुल्क गर्ने स्पष्ट नीति अवलम्बन गर्नुपर्छ।” उहाँका अनुसार स्वास्थ्यमा पहुँच नहुनु सामाजिक अन्यायको सबैभन्दा क्रूर रूप हो, जसलाई अन्त्य नगरी समावेशी र न्यायपूर्ण समाज निर्माण सम्भव छैन।

भण्डारीले वर्तमान स्वास्थ्य बीमा प्रणाली कमजोर र अपूरो भएको टिप्पणी गर्दै गम्भीर रोगका हकमा बीमामा निर्भर नभई राज्य स्वयं जिम्मेवार हुनुपर्ने बताए। “बीमा नवीकरण भयो कि भएन, प्रिमियम तिरियो कि तिरिएन भन्ने कारणले उपचार रोकिनु हुँदैन,” उहाँले भन्नुभयो, “नागरिकता देखाए पुग्ने, उपचार स्वतः राज्यले बेहोर्ने व्यवस्था हुनुपर्छ।”

सचेत नागरिक अभियानले निजी अस्पताललाई पनि राष्ट्रिय स्वास्थ्य प्रणालीभित्र ल्याई गम्भीर रोगको उपचार निःशुल्क दिन बाध्य बनाउनुपर्ने धारणा अघि सारेको छ। अध्यक्ष भण्डारीका अनुसार निजी अस्पताललाई नियन्त्रण र नियमन नगरी निःशुल्क स्वास्थ्य सेवा सम्भव छैन। “राज्यले लागत तिर्न सक्छ, तर नाफाखोरी स्वीकार्य हुँदैन,” उहाँले जोड दिनुभयो।

कार्यक्रममा बोल्दै उहाँले औषधि र परीक्षणको मूल्य अत्यधिक महँगो हुनु निःशुल्क स्वास्थ्य सेवाको मुख्य बाधक भएको उल्लेख गर्नुभयो। त्यसका लागि राज्य स्वामित्वमा औषधि उत्पादन, जेनेरिक औषधिको अनिवार्य प्रयोग र अनावश्यक जाँचमा रोक लगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, विदेश उपचारको नाममा बगिरहेको ठूलो रकम देशमै उच्चस्तरीय उपचार केन्द्र स्थापना गर्न प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो।

अध्यक्ष भण्डारीले सचेत नागरिक अभियान गम्भीर रोग निःशुल्क उपचारको पक्षमा राष्ट्रव्यापी जनचेतना र दबाबमूलक कार्यक्रम अघि बढाउने तयारीमा रहेको जानकारी दिनुभयो। “स्वास्थ्यमा समान पहुँच हाम्रो अभियानको मूल एजेन्डा हो,” उहाँले भन्नुभयो, “यो विषय कुनै दल वा सरकारको मात्र होइन, सम्पूर्ण नागरिकको साझा मुद्दा हो।”

कार्यक्रममा सहभागी नागरिक समाजका प्रतिनिधिहरूले पनि गम्भीर रोगको उपचार निःशुल्क बनाउने अभियानलाई व्यापक जनसमर्थन जुटाउँदै अघि बढाउनुपर्ने धारणा राखेका

LEAVE A REPLY