नेतृत्वको कमजोरी र दीर्घकालीन योजना अभावले नुवाकोटको विकास रोकेको छ :गौतम

0
26

नुवाकोट । नुवाकोट जिल्लाका परिवर्तनकारी युवा नेता तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश समिति अध्यक्ष मण्डलका अध्यक्ष राजन गौतम (नकुल) ले जिल्लाको राजनीतिक र विकास संकटमाथि तीव्र ध्यानाकर्षण गराउनु भएको छ।

उहाँले हालको राजनीतिक अस्थिरता, कमजोर नेतृत्व र दीर्घकालीन योजना अभावका कारण नुवाकोटमा ठूला विकास आयोजना अघि बढ्न नसकेको स्पष्ट पारेका छन्।
राजन गौतमले भन्नुभयो, “संसद् विघटन असंवैधानिक छ भनेर हस्ताक्षर संकलन भइरहेको छ, तर सभामुख, उपसभामुख र राष्ट्रपति पनि यही राजनीतिक दलको समर्थनमा बनेका हुन्। आज बैठक बोलाउन नसक्ने अवस्था कसको कमजोरी हो ?” उहाँले विगतका राजनीतिक अस्थिरताका दृश्यहरू स्मरण गर्दै जनता र सांसद दुवैलाई जिम्मेवारीको आत्मसमीक्षा गर्न आग्रह गर्नुभयो।
उहाँले २०७२ देखि २०८२ सम्म सत्ता देउवा, ओली र दाहालबीच घुमिरहँदा जनताको आशा जगाउने काम पर्याप्त नभएको भन्दै कटाक्ष गर्नुभयो। “हेलिकप्टर चढेर भाग्ने, घर छोड्ने र घरभित्र पैसा जल्ने जस्ता घटनाहरू सम्झनुहोस्। आजको कानुन र संविधानको कुरा गर्नु अघि आफ्नै जिम्मेवारी र जनताको पक्षमा भएको बेवास्ता एकपटक हेर्न आवश्यक छ,” नकुले जोड दिनुभयो।
नुवाकोटमा ठूला विकास आयोजनाहरू नबन्नुको कारणलाई उहाँले राजनीतिक अस्थिरता, कमजोर नेतृत्व, समन्वयको अभाव, दीर्घकालीन योजना नहुनु र जनउत्तरदायित्वको कमीसंग जोड्नुभयो। “अब नाटक गर्नुको सट्टा ठोस काम र जनताप्रति जवाफदेहिता देखाउन जरुरी छ,” उहाँले स्पष्ट पार्नुभयो।
नकुले नागरिक र पार्टीका कार्यकर्ताहरूसँग मिलेर नुवाकोटको समृद्धि र स्थायी विकासका लागि अभियान अघि बढाइरहनुभएको जानकारी पनि कार्यक्रममा प्रस्तुत गरियो। उहाँको धारणा अनुसार नुवाकोटको वास्तविक विकास केवल राजनीतिक स्थायित्व, सक्षम नेतृत्व र दीर्घकालीन योजना कार्यान्वयनबाट मात्र सम्भव छ।
उहाँले नुवाकोटवासी र सांसदहरूलाई चेतावनी दिएका छन् कि अब जनताको विश्वास र आशा कायम राख्न वास्तविक कामको आवश्यकता छ, न कि केवल वाचा र नाटकको प्रदर्शन।

LEAVE A REPLY