
बन्दुकबाट गुलाबसम्म : विप्लवलाई आयोगले दल दर्ता प्रमाणपत्र र चुनाव चिह्न प्रदान।


बन्दुकबाट गुलाबसम्म : विप्लवलाई आयोगले दल दर्ता प्रमाणपत्र र चुनाव चिह्न प्रदान।
काठमाडौं, मंसिर २ — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएपछि अब पार्टी खुला राजनीतिक प्रतिस्पर्धामा उत्रने तयारीमा जुटेको छ।
आयोगले मंगलबार विप्लवलाई दल दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन बाटो खुलेको जानकारी गराएको हो।
दर्तासँगै विप्लव समूहले पाएको चुनाव चिह्न ‘गुलाबको फूल’ पार्टीको परिवर्तन यात्रा, शान्ति मार्ग र नयाँ राजनीतिक अध्यायको प्रतीकका रूपमा देखिएको छ। एक दशकभन्दा बढी समयभूमिगत क्रान्तिकारी स्वरूपबाट अघि बढ्दै आएको विप्लव समूहले अब शान्तिपूर्ण संसदीय प्रक्रियामा प्रवेश गर्ने आधिकारिक घोषणा गरेको हो।
विप्लवले कात्तिक ११ गते आयोगमा निवेदन दिएका थिए। प्रारम्भिक रूपमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम दर्ता गर्न खोजे पनि अन्ततः पार्टीको नाम परिमार्जन गरी ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी)’ राखिएको छ। आयोगले कागजात, विधान, लक्ष्य तथा संगठनात्मक संरचना परीक्षण गरेपछि दर्ता प्रक्रियालाई अनुमोदन गरेको हो।
विगतमा एकीकृत जनक्रान्ति, भूमिगत अभियान, विभाजन र पुनर्गठन हुँदै आएको विप्लव समूह अब खुला प्रतिस्पर्धा, जनसम्पर्क र संगठन विस्तारमार्फत राजनीतिक यात्रालाई नयाँ मोड दिने तयारीमा छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले विप्लवलाई दल दर्ता प्रमाणपत्र तथा ‘गुलाब’ चिह्न हस्तान्तरण गर्दै लोकतान्त्रिक राजनीति सबैका लागि खुला रहेको बताएका छन्।
पार्टीका नेताहरूले दर्तालाई वैधानिक मान्यता प्राप्तिको ऐतिहासिक उपलब्धि भन्दै यसलाई जनतासँग प्रत्यक्ष संवाद र लोकतान्त्रिक प्रतिस्पर्धामा प्रवेश गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।











