ब्याक टु ब्याक राहत: रवि लामिछानेको चुनावी बाटो खुल्यो, पर्साबाट पनि रिहा

0
11

वीरगञ्ज । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्न आदेश दिएको छ।वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि अदालतले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको हो।

​जिल्ला न्यायाधीश रुद्रप्रसाद सुवेदीको एकल इजलासले लामिछानेसहित २९ जनाविरुद्ध परेको मुद्दामा थुनछेक बहसपछि उक्त आदेश सुनाएको हो। अदालतको आदेशपछि लामिछानेले प्रभु बैंकको १ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका छन्। धरौटी र आवश्यक कानुनी प्रक्रिया पुरा भएपछि उनी अदालतबाट रिहा भएका हुन्।

वीरगञ्जको सानो पाइला सहकारीको करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा स्थानान्तरण गरी अपचलन गरेको अभियोगमा लामिछानेमाथि अनुसन्धान सुरु भएको थियो। जिल्ला सरकारी वकिल कार्यालय पर्साले लामिछाने र गोर्खा मिडियाका सञ्चालक जिबी राईसहित २९ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दायर गरेको थियो।
​अनुसन्धानका क्रममा सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ हजार रुपैयाँ स्थानान्तरण भएको देखिएको दाबी अभियोग पत्रमा गरिएको थियो।

पर्सा अदालतबाट रिहा भएलगत्तै लामिछाने आजै चितवन प्रस्थान गरेका छन्। आगामी निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गर्ने उनको तयारी रहेको छ। कास्की, रूपन्देही र काठमाडौँका अदालतबाट यसअघि नै धरौटीमा रिहा भइसकेका लामिछानेलाई पर्सा अदालतको यो अन्तिम आदेशले चुनावी मैदानमा उत्रिने बाटो खुला गरिदिएको छ।
​यद्यपि, उनी विरुद्धका सहकारी ठगी सम्बन्धी मुद्दाहरू विभिन्न जिल्ला अदालतमा अझै विचाराधीन छन्। अदालतले मागेको समयमा उपस्थित हुने र अनुसन्धानमा सहयोग गर्ने सर्तमा उनलाई तारेखमा छाडिएको हो।

LEAVE A REPLY