
सुनको मूल्यमा ऐतिहासिक उछाल: एकैदिन तोलामा १०,४०० ले बढ्यो, ३ लाखको नजिक


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले बुधबार (८ माघ २०८२) फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला १० हजार ४०० रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो।
मंगलबार प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबारको वृद्धिसँगै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाली बजारमा सुनको मूल्य यसरी एकैदिन १० हजारभन्दा बढीले बढेको यो पहिलो पटक हो। सुनको भाउ ३ लाख रुपैयाँको मनोवैज्ञानिक बिन्दुको निकै नजिक पुगेपछि बजारमा यसको चर्चा चुलिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको भारी वृद्धिका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको हो। विश्वबजारमा सुनको मूल्य प्रतिऔंस ४,७४० अमेरिकी डलरसम्म पुगेपछि नेपाली बजारमा पनि त्यसैको अनुपातमा मूल्य समायोजन गरिएको हो। रुस-युक्रेन र मध्यपूर्वमा बढ्दै गएको तनाव तथा अमेरिकी अर्थतन्त्रमा देखिएको उतारचढावका कारण सुरक्षित लगानीको रूपमा सुनतर्फ लगानीकर्ताको आकर्षण बढ्दा विश्वबजारमै मूल्य बढेको बताइएको छ।
चाँदीको मूल्य पनि महँगो
सुनसँगै चाँदीको मूल्यले पनि बुधबार नयाँ कीर्तिमान कायम गरेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार ९२० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यले दैनिक जसो नयाँ रेकर्ड बनाउन थालेपछि बजारमा सुन किन्नेभन्दा पनि बेच्ने ग्राहकहरूको घुइँचो लाग्न थालेको छ। मूल्य धेरै बढेपछि नयाँ गरगहना बनाउनेहरूको संख्यामा कमी आएको व्यवसायीहरू बताउँछन्। अर्कोतर्फ, विहेको सिजन नजिकिँदै गर्दा उपभोक्ताहरू मूल्य वृद्धिले थप चिन्तित बनेका छन्।











