​चुनावी उत्साहले शेयर बजारमा हरियाली: नेप्सेमा ४२ अङ्कको वृद्धि, कारोबार ११ अर्ब ८५ करोड नाघ्यो

0
19

​चुनावी उत्साहले शेयर बजारमा हरियाली: नेप्सेमा ४२ अङ्कको वृद्धि, कारोबार ११ अर्ब ८५ करोड नाघ्यो
​काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितता र देशव्यापी रूपमा बढेको राजनीतिक सरगर्मीका कारण नेपाली शेयर बजारमा आज उल्लेख्य सुधार देखिएको छ। निर्वाचनले राजनीतिक स्थिरता ल्याउने र अर्थतन्त्र चलायमान हुने अपेक्षामा लगानीकर्ताहरू उत्साहित देखिएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि भएको हो।
​मंगलबार नेप्से परिसूचक ४२.२६ अङ्कले बढेर २,७१४.८१ को विन्दुमा पुगेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १.५८ प्रतिशतको वृद्धि हो। निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै बजारमा सकारात्मक सन्देश गएको र त्यसैको प्रतिफल स्वरूप नेप्सेले ५ महिनायताकै उच्च विन्दु पच्छाएको छ।
​कारोबार रकममा रेकर्ड
बजार परिसूचकसँगै आज कारोबार रकमले पनि नयाँ उचाइ लिएको छ। आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम पछिल्लो छ महिनायताकै उच्च हो।
​कुन समूहको अवस्था कस्तो ?
आज कारोबार भएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ। होटल तथा पर्यटन समूह सबैभन्दा बढी ३.३६ प्रतिशतले उकालो लागेको छ भने जीवन बीमा, विकास बैंक र वित्त उपसमूहमा पनि आकर्षक वृद्धि देखिएको छ। निर्वाचन खर्चले बजारमा तरलता बढाउने र बैंकहरूको ब्याजदर समेत घट्ने आशामा लगानीकर्ताहरूले ठूला कम्पनीका शेयरमा लगानी केन्द्रित गरेका छन्।
​आज सबैभन्दा बढी गुर्खाज फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै आँखु खोला जलविद्युत्, राप्ती हाइड्रो र नेसनल हाइड्रोपावरका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन्।
​विशेषज्ञहरूका अनुसार निर्वाचनको समयमा बजारमा पैसाको प्रवाह बढ्ने भएकाले आगामी दिनमा नेप्से अझै सकारात्मक दिशातर्फ अघि बढ्ने सम्भावना छ। यद्यपि, बजारमा आउने उतारचढावलाई मध्यनजर गर्दै लगानीकर्ताहरूलाई सतर्क रहन पनि सुझाव दिइएको छ।

LEAVE A REPLY