
स्यूचाटारमा देशकै पहिलो एआई कम्प्युटर सेन्टर


स्यूचाटारमा देशकै पहिलो एआई कम्प्युटर सेन्टर
काठमाडौँ, १७ जेठ । सरकारले सूचना प्रविधिको क्षेत्रमा ऐतिहासिक कदम चाल्दै काठमाडौँको स्यूचाटारमा देशकै पहिलो सार्वभौम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्युटर सेन्टर स्थापना गर्ने घोषणा गरेको छ । यसका लागि आर्थिक वर्षको बजेटमा ५ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार यो सेन्टरमा हजारौँ एआई प्रोसेसिङ युनिट (GPU/TPU) जडान गरिनेछ । नेपाललाई प्रविधिमा आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यसहित निर्माण हुन लागेको यो सेन्टरलाई ‘नेसनल एआई डाटा सेन्टर’ नाम दिइएको छ । यसले नेपाल सरकार, सुरक्षा निकाय, स्वास्थ्य, कृषि, शिक्षा र उद्योग क्षेत्रमा एआई प्रविधिको प्रयोगलाई तीव्रता दिनेछ ।
मन्त्रालयका प्रवक्ता रमेश अधिकारीले भने, “यो सेन्टरले नेपालको डाटालाई नेपालमै राखेर प्रशोधन गर्न सकिने क्षमता सिर्जना गर्नेछ । विदेशी कम्पनीमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।”
यो सेन्टरमा हाई–स्पीड कम्प्युटिङ, मेसिन लर्निङ मोडेल ट्रेनिङ, बिग डाटा एनालिटिक्स र क्लाउड इन्फ्रास्ट्रक्चर समावेश हुनेछ । सरकारले यसलाई राष्ट्रिय सुरक्षा र डाटा संरक्षणको दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण ठानेको छ । स्थानीय स्यूचाटार क्षेत्रमा रहेको खाली जग्गामा निर्माण हुने यो पूर्वाधारले स्थानीय रोजगारी पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
विशेषज्ञहरूका अनुसार यो सेन्टर सञ्चालनमा आएपछि नेपालले एआईको क्षेत्रमा छिमेकी देशहरूसँग प्रतिस्पर्धा गर्न सक्ने आधार तयार हुनेछ । यसले स्टार्टअपहरूलाई सस्तो र शक्तिशाली कम्प्युटिङ सुविधा उपलब्ध गराउनेछ ।
सरकारले यसलाई ‘डिजिटल नेपाल’ अभियानको महत्वपूर्ण खुट्किलो मानेको छ । निर्माण कार्य छिट्टै सुरु हुने र दुई वर्षभित्र पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यसले नेपालको अर्थतन्त्रलाई डिजिटल रूपान्तरणमा ठूलो टेवा दिने अपेक्षा गरिएको छ ।
यो पहलले युवा प्राविधिकहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने र विदेश पलायन घटाउने विश्वास लिइएको छ । स्यूचाटार एआई सेन्टरलाई लिएर प्राविधिक समुदायमा उत्साह छाएको छ ।











