योगदान राष्ट्रको लागि’ र ओम समाज डेन्टल अस्पतालद्वारा बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न

0
20

‘योगदान राष्ट्रको लागि’ र ओम समाज डेन्टल अस्पतालद्वारा बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न
काठमाडौं। समुदायस्तरमै सहकार्यबाट प्रभावकारी सेवा प्रदान गर्न सकिने उदाहरणस्वरूप ‘योगदान राष्ट्रको लागि’ र ओम समाज डेन्टल अस्पतालको संयुक्त आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न भएको छ। शिविरमा ओम समाज डेन्टल अस्पताल, हिमाल अस्पताल र कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो।
काठमाडौं महानगरपालिका–२६, लैनचौरस्थित सिल्भर माउन्टेन कलेज (होटल म्यानेजमेन्ट) को परिसरमा “प्राथमिक स्वास्थ्य हाम्रो सरोकार” भन्ने मूल नारासहित आयोजना गरिएको शिविरबाट ६ सयभन्दा बढी सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको शिविरमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
सिल्भर माउन्टेन कलेजको सामाजिक प्रतिबद्धता
शिविर आयोजना स्थल सिल्भर माउन्टेन कलेज केवल शैक्षिक संस्था मात्र नभई सामाजिक उत्तरदायित्वप्रति सक्रिय संस्था भएको आयोजकको भनाइ छ। कलेजका संस्थापक तथा अध्यक्ष समीर थापा स्वयं समाजसेवी भएकाले शिक्षा र सामाजिक सेवाको संयोजनलाई निरन्तर प्रवर्द्धन गर्दै आएका छन्।
२००२ देखि सञ्चालनमा आएको सिल्भर माउन्टेन कलेज सन् २०२६ मा २५ वर्षे यात्रातर्फ उन्मुख छ। नेपालमै पहिलोपटक विदेशी विश्वविद्यालयसँग सम्बन्धन गरी होटल म्यानेजमेन्ट शिक्षा सुरु गर्ने निजी कलेजका रूपमा परिचित यस कलेजले बेलायतको १५० वर्ष पुरानो प्रतिष्ठित क्विन मार्गरेट विश्वविद्यालयसँग सम्बन्धनमा अन्तर्राष्ट्रिय आतिथ्य तथा पर्यटन व्यवस्थापन स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, नेपालमै पहिलोपटक चार वर्षे अन्तर्राष्ट्रिय कुलिनरी आर्ट्स स्नातक कार्यक्रम सुरु गरेको कलेज हो।
कलेजले शिक्षा कक्षाकोठामा मात्र सीमित नराखी विद्यार्थीको सीप विकास, व्यावहारिक ज्ञान, करियर उन्नति र सामाजिक चेतनामा जोड दिँदै आएको छ। यही दृष्टिकोणअनुसार स्वास्थ्य शिविर, सामाजिक अभियान र मानवीय सेवामा निरन्तर सहकार्य गर्दै आएको जनाइएको छ।
शर्मिला थापाको नेतृत्वमा सामाजिक सेवा
‘योगदान राष्ट्रको लागि’ कार्यक्रमको मुख्य समन्वय काठमाडौं महानगर समितिकी अध्यक्ष शर्मिला थापाको नेतृत्वमा सम्पन्न भएको हो। सामाजिक सेवामा सक्रिय थापाले यस्ता निःशुल्क स्वास्थ्य शिविर नागरिकको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त आवश्यक रहेको बताइन्।
उनले भनिन्, “स्थानीय तहमा नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम प्रभावकारी सामाजिक सेवा हो। आर्थिक अवस्था वा पहुँचका कारण कोही पनि उपचारबाट वञ्चित हुनु हुँदैन भन्ने हाम्रो विश्वास हो।”
उनको सक्रिय नेतृत्वमा काठमाडौं महानगर समितिले स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर कार्यक्रम गर्दै आएको सहभागीहरूको भनाइ छ।
स्वास्थ्य सेवा तथा चिकित्सकीय योगदान
शिविरमा सहभागी सेवाग्राहीलाई निःशुल्क सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण, प्रारम्भिक आँखा जाँच, रक्तचाप तथा मधुमेह (सुगर) परीक्षण र आवश्यक चिकित्सकीय परामर्श प्रदान गरिएको थियो। प्रारम्भिक परीक्षणमा गम्भीर समस्या देखिएका सेवाग्राहीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गरिएको आयोजकले जनाएको छ।
दन्त स्वास्थ्य सेवामा ओम समाज डेन्टल अस्पतालकी डा. पूजा थापा र डा. दीक्षा चौधरीले दाँत, गिजा तथा मुखसम्बन्धी समस्याको परीक्षण तथा परामर्श प्रदान गरे। दन्त सहायक सबिता निरौलाले उपचार प्रक्रियामा सहजीकरण गरिन्।
सामान्य स्वास्थ्य परीक्षणका लागि हिमाल अस्पतालका डा. अनुज कुमार सिंह, डा. सृष्टि सुब्बा राई र डा. नितिन ज्ञवालीको टोलीले सेवा प्रदान गर्‍यो। आँखा परीक्षणमा कीर्तिपुर आँखा अस्पतालका दुर्गा देवी श्रेष्ठ, रेणु चौधरी र नवीन उपाध्यायको टोली सक्रिय रहेको थियो।
रक्तदान तथा सहकार्य
शिविरसँगै क्रिना योगी टिमको समन्वयमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो। साथै, सामाजिक सहकार्यका रूपमा तारकेश्वर क्लब–६० को समेत सहभागिता रहेको थियो।
आगामी योजना
ओम समाज डेन्टल अस्पतालले “सडकदेखि घरसम्म” भन्ने मूल नारालाई आत्मसात् गर्दै निःशुल्क तथा सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। आयोजक संस्था ‘योगदान राष्ट्रको लागि’ ले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा यस्ता स्वास्थ्य तथा दन्त शिविरलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY