नुवाकोट–१ मा बद्री मैनालीको एकल सिफारिस: पार्टी पङ्क्ति र जनतामाझ ‘निर्विकल्प’

0
13

नुवाकोट–१ मा बद्री मैनालीको एकल सिफारिस: पार्टी पङ्क्ति र जनतामाझ ‘निर्विकल्प’
​विदुर, नुवाकोट ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) नुवाकोट क्षेत्र नम्बर १ ले पार्टीका जिल्ला अध्यक्ष बद्री मैनालीलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ।

​शनिबार सम्पन्न क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी बैठकले सर्वसम्मत रूपमा मैनालीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले मैनालीको नाममा व्यापक सहमति जनाउँदै उहाँलाई ‘निर्विकल्प’ उम्मेदवारको रूपमा अघि सारेका हुन्।

​एमाले नुवाकोट क्षेत्र नम्बर १ का संयोजक शुशील खड्काका अनुसार पार्टी संगठन सुदृढीकरणमा मैनालीले पुर्‍याएको योगदान, उहाँको लामो राजनीतिक अनुभव र स्थानीय स्तरमा रहेको बलियो जनसमर्थनलाई मुख्य आधार मानेर यो निर्णय गरिएको हो। “क्षेत्रीय कमिटीमा सबैको एउटै आवाज र पूर्ण सहमति भएपछि हामीले अध्यक्ष मैनालीको नाम एकल सिफारिस गरेका हौँ,” संयोजक खड्काले बताए।

​जिल्ला अध्यक्ष समेत रहनुभएका मैनाली यसअघि बागमती प्रदेशसभा सदस्यको रूपमा सक्रिय रहिसक्नुभएको छ। उहाँको सिफारिससँगै कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ।

अब राष्ट्रियता, विकास र जनजीविकाको सवालमा एमाले नै निर्विकल्प शक्ति हो भन्ने प्रमाणित गर्न जनताको बीचमा जाने तयारी भइरहेको एमाले नुवाकोटले जनाएको छ।
​फागुन २१ को निर्वाचनका लागि नुवाकोट क्षेत्र नम्बर १ मा मैनाली र क्षेत्र नम्बर २ मा केशव पाण्डेको एकल सिफारिस भएसँगै एमालेले जिल्लाभर चुनावी अभियानलाई तीव्रता दिएको छ।

LEAVE A REPLY