
अमेरिका–भेनेजुएला घटनाक्रमपछि उत्तर कोरियाको मिसाइल परीक्षण


एजेन्सी समाचार
आइतबार पुस ,२० सोल/टोकियो ।— उत्तर कोरियाले आइतबार सन् २०२६ कै पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। प्योङयाङले पूर्वी सागर (जापान सागर)तर्फ कम्तीमा दुई वटा क्षेप्यास्त्र प्रहार गरेपछि कोरियाली प्रायद्वीपसहित अन्तर्राष्ट्रिय स्तरमा तनाव बढेको छ।
रोयटर्सका अनुसार दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ चीनको राजकीय भ्रमणमा रहेका दिन र अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लक्षित गर्दै आक्रमण गरेपछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो। राष्ट्रपति ली हाल बेइजिङमा छन्, जहाँ उनको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता हुने कार्यक्रम छ। भेटमा कोरियाली प्रायद्वीपको शान्ति र क्षेत्रीय स्थिरताका विषयमा छलफल हुने बताइएको छ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले घटनापछि आपतकालीन सुरक्षा बैठक बोलाउँदै उत्तर कोरियाको कदमलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन भएको ठहर गरेको छ। सियोलले यस्ता उत्तेजक गतिविधि तुरुन्त रोक्न प्योङयाङलाई आग्रह गरेको छ।
जापानले पनि क्षेप्यास्त्र प्रक्षेपणको कडा आलोचना गरेको छ। जापानी रक्षामन्त्री शिन्जिरो कोइजुमीले उत्तर कोरियाको कदमले छिमेकी देश मात्र नभई सम्पूर्ण क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति तथा सुरक्षामा गम्भीर खतरा पैदा गरेको बताए। “जापान सरकारले उत्तर कोरियाविरुद्ध कडा विरोध दर्ता गरेको छ र यस कार्यको तीव्र निन्दा गर्दछ,” उनले विज्ञप्तिमा भने।
उत्तर कोरियाद्वारा गरिएको संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि जापानकी प्रधानमन्त्री साने ताकाइचीको कार्यालयले सम्बन्धित निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। निर्देशनमा सूचना संकलन र विश्लेषण तीव्र बनाउन, जनतालाई समयमै सही जानकारी दिन तथा विमान, जहाज र अन्य सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न भनिएको छ। आकस्मिक अवस्थाका लागि सबै सम्भावित सावधानी अपनाउन पनि आग्रह गरिएको छ।
इन्डो–प्यासिफिक क्षेत्रमा तैनाथ अमेरिकी सेनाले हालको प्रक्षेपणले अमेरिकी कर्मचारी, क्षेत्र वा सहयोगी राष्ट्रलाई तत्काल खतरा नपु¥याएको स्पष्ट पारेको छ। अमेरिकाले यस विषयमा आफ्ना सहयोगीहरूसँग परामर्श जारी राखेको जनाएको छ।
दक्षिण कोरियाली सेनाका अनुसार आइतबार बिहान प्रक्षेपित क्षेप्यास्त्रहरूले करिब ९०० किलोमिटर दूरी तय गरेका छन्। जापानको रक्षा मन्त्रालयले ती क्षेप्यास्त्र करिब ९०० र ९५० किलोमिटर उडेको अनुमान सार्वजनिक गरेको छ।
उत्तर कोरियाले यसअघि गत वर्ष नोभेम्बर ७ मा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। हालै नेता किम जोङ उनले हतियार कारखाना तथा आणविक पनडुब्बीसम्बन्धी स्थलहरूको निरीक्षण गर्दै रणनीतिक हतियार उत्पादन बढाउन निर्देशन दिएका छन्। पार्टी कांग्रेसको तयारीका बीच उत्तर कोरियाले फेरि सैन्य शक्ति प्रदर्शन गरेको विश्लेषकहरूको भनाइ छ।











