
समाजमा ‘घृणाको व्यापार’ बन्द गरौँ, मौलिक सभ्यता जोगाउन पत्रकारको भूमिका ठूलो छ: अध्यक्ष ओली


समाजमा ‘घृणाको व्यापार’ बन्द गरौँ, मौलिक सभ्यता जोगाउन पत्रकारको भूमिका ठूलो छ: अध्यक्ष ओली
काठमाडौँ | चैत ८, २०८२
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको मौलिक पहिचान र संस्कृतिमाथि प्रहार भइरहेको भन्दै ‘घृणाको व्यापार’ तत्काल बन्द गर्न आह्वान गर्नुभएको छ। बुवाको निधनपछि शोक व्यक्त गर्न आफ्नो निवास पुगेका सञ्चारकर्मीहरूसँगको छलफलमा उहाँले नेपाली समाजमा बढ्दो उग्रता र अशिष्टताप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।
अध्यक्ष ओलीले नेपालको सभ्यता र संस्कृति विश्वकै लागि नमूना रहेको स्मरण गराउँदै भन्नुभयो, “मिलनसार स्वभाव, शिष्टता, मर्यादा र आदर्श नेपाली समाजको जग हो। तर, दुर्भाग्यवश केही समयदेखि यो जग हल्लिएको छ। नेपालीहरूबीच डरलाग्दो गरी घृणा फैलाउने खेल भइरहेको छ।”
’सेलिब्रेटी’ बन्ने होडले संस्कृतिमाथि प्रहार
पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट जति धेरै घृणा फैलाउन सकियो, त्यति नै छिटो ‘सेलिब्रेटी’ बनिन्छ भन्ने गलत मानसिकता हावी भएको ओलीको विश्लेषण छ। “धेरै घृणा फैलाएर चर्चामा आउने होडबाजीले हाम्रो भाषा र संस्कृतिलाई नराम्रोसँग बिगारिरहेको छ,” उहाँले भन्नुभयो, “मैले यो कुरा पहिलेदेखि नै उठाउँदै आएको छु, अब अति भयो। यो घृणाको व्यापारले देशलाई कतै पुर्याउँदैन।”
अध्यक्ष ओलीले समाजलाई सही दिशा दिन पत्रकारहरूको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। पढेलेखेका र सामाजिक कार्यमा लागेका व्यक्तिहरू नै यस अभियानमा अग्रसर हुनुपर्ने उहाँको तर्क छ।
”तपाईं पत्रकारहरूबाटै यसको सुरुवात होस्। नेपाली मौलिक संस्कृति र सभ्यतालाई जोगाउन सकिएन भने हामी निकै डरलाग्दो खाडलमा फस्नेछौँ,” उहाँले चेतावनी दिनुभयो। समाजलाई पुरानै सभ्य र मर्यादित स्वरूपमा फर्काउनका लागि सबै मिलेर ठोस पहलकदमी लिनुपर्नेमा उहाँको विशेष आग्रह थियो।











