सिन्धुली बैंक डकैती अपडेट: १ करोड ८० लाख बरामद, चार जना पक्राउ

0
19

सिन्धुली बैंक डकैती अपडेट: १ करोड ८० लाख बरामद, चार जना पक्राउ

पुस ३०   सिन्धुली,
सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ स्थित नेपाल एसबीआई बैंकको शाखाबाट लुटिएको रकममध्ये झण्डै आधा रकम बरामद भएको छ। मंगलबार बेलुका भएको भीषण लुटपाटको घटनापछि प्रहरीले चलाएको विशेष सर्च अप्रेसनका क्रममा हालसम्म १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ फेला परेको हो।

​बैंकबाट कुल ३ करोड ११ लाख ९५ हजार २८३ रुपैयाँ लुटिएको बैंक व्यवस्थापनले पुष्टि गरेको छ। बाँकी १ करोड ३१ लाख रुपैयाँ र फरार लुटेराहरूको खोजीका लागि प्रहरीले सिन्धुली र काभ्रेको सीमा क्षेत्रमा कडा नाकाबन्दी गरेको छ।
​चार जना नियन्त्रणमा, चालकको रहस्यमयी बयान
​प्रहरीले लुटपाटमा संलग्न भएको आशंकामा हालसम्म ४ जनालाई नियन्त्रणमा लिएको छ। लुटेराहरूले फरार हुन प्रयोग गरेको विएडी ०३९८ नम्बरको टाटा सुमो र त्यसका चालक भवत सिंह थापालाई प्रहरीले पक्रेको हो। पक्राउ परेका चालकले आफूलाई ‘केटी भगाउन जानु छ’ भन्दै गाडी बुक गरिएको तर पछि हतियारधारी समूहले बैंक लुटेको दाबी गरेका छन्।

​लुटेराहरूको प्रतिकार गर्न खोज्दा बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्की गम्भीर घाइते भएका छन्। नकाबधारी समूहले खुकुरी प्रहार गर्दा उनको हातमा गहिरो चोट लागेको छ। उनको हाल उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

​मंगलबार करिब ७:४५ बजेको समयमा १० जनाको समूहमा आएका हतियारधारीले बैंकका कर्मचारी र गार्डलाई नियन्त्रणमा लिएका थिए। विकट क्षेत्र र सञ्चारको असुविधाको फाइदा उठाउँदै उनीहरूले बोरामा पैसा भरेर भागेका थिए। स्थानीय बासिन्दा र प्रहरीको सक्रियताका कारण केही रकम जंगलको बाटोमा फालेको अवस्थामा बरामद गरिएको हो।
​जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, फरार रहेका अन्य ५-६ जना लुटेराहरू जंगलमै लुकेको हुनसक्ने आशंकामा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ।

LEAVE A REPLY