
सुकुम्बासीको पक्षमा व्यवसायी दुर्गा प्रसाई, मेयर बालेनविरुद्ध अभियानको घोषणा।

सुकुम्बासीको पक्षमा व्यवसायी दुर्गा प्रसाई, मेयर बालेनविरुद्ध अभियानको घोषणा

काठमाडौं — व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौंको मनोहरा सुकुम्बासी बस्ती पुगेका छन्। काठमाडौं महानगरपालिकाले बस्ती खाली गर्न दिएको एक हप्ते अल्टिमेटम आज सकिँदै गर्दा उनले सुकुम्बासीको पक्षमा खुलेर बोल्दै मेयर बालेन शाहविरुद्ध अभियान सुरु गर्ने घोषणा गरेका हुन्।
मनोहरामा आयोजित भेलामा ठूलो संख्यामा स्थानीय सुकुम्बासीहरू उपस्थित थिए। भेलालाई सम्बोधन गर्दै प्रसाईंले आफू जनताको पक्षमा उभिन आएको बताउँदै भने, “जो सुकुम्बासीलाई थिच्छ, उसका परिवारले पनि त्यसको परिणाम भोग्नुपर्छ। अब म सुकुम्बासीका लागि सडकमै उत्रिन्छु।” उनले आगामी मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो राष्ट्रिय अभियानमा सहभागी हुन स्थानीयलाई आग्रह गरे।
उनले मेयर बालेन शाहले शहर विकासको नाममा गरिब र सुकुम्बासी जनतालाई विस्थापित गर्न खोजेको आरोप लगाउँदै भने, “सहर सुन्दर बनाउने नाममा बस्ती जलाउने, घर भत्काउने काम लोकतान्त्रिक अभ्यास होइन। जनताको अधिकार खोस्न खोज्नेहरूसँग अब संघर्ष हुनेछ।”
प्रसाईंले आफ्नो अभियान कुनै राजनीतिक स्वार्थका लागि नभई अन्यायको विरोधका लागि भएको दाबी गरे। “सुकुम्बासी पनि नागरिक हुन्। उनीहरूलाई बसोबासको अधिकार, रोजगारीको अवसर र सुरक्षाको प्रत्याभूति राज्यले दिनुपर्छ,” उनले जोड दिए।
यसबीच, काठमाडौं महानगरपालिकाले अतिक्रमण गरिएको सार्वजनिक जग्गा फिर्ता गर्ने उद्देश्यले गत सातादेखि मनोहरासहितका विभिन्न बस्तीमा बस्ती खाली गर्न अल्टिमेटम दिएको थियो। आज अल्टिमेटमको अन्तिम दिन भएकाले महानगरले आवश्यक प्रशासनिक र सुरक्षा तयारी पूरा गरेको जनाएको छ।
महानगरका अधिकारीहरूका अनुसार बस्तीमा बसोबास गर्नेहरूलाई वैकल्पिक बसोबासको व्यवस्था गरिने वा कानुनी प्रक्रिया अनुसार काम अघि बढाइने बताइएको छ। तर, सुकुम्बासीहरू भने वैकल्पिक व्यवस्था नहुँदासम्म बस्ती नछोड्ने अडानमा छन्।
मनोहरा क्षेत्रमा अहिले सुरक्षा बलको उपस्थिति बढाइएको छ। स्थानीयहरूमा त्रास र अन्योलता फैलिएको छ भने व्यवसायी प्रसाईंको समर्थनले आन्दोलनको रूप लिने संकेत देखिएको छ।











