
“३ दशकदेखि प्यासै-प्यास: नुवाकोटको ‘सानो मेलम्ची’ अझै अन्धकारमा!”


नुवाकोटको ‘सानो मेलम्ची’ ड्वाचे खानेपानी आयोजना तीन दशकदेखि अधुरै, उपभोक्ता सकारात्मक पहलमा आह्वान
नुवाकोट । झण्डै तीन दशकअघि प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि मात्र ६० हजार रूपैयाँ बिनियोजन गर्दै सुरु गरिएको नुवाकोटको ड्वाचे खानेपानी आयोजना अझै अधुरै छ। तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको नेतृत्वमा मन्त्री नियुक्त भएका जित सिंह खड्काले पहल गरेको यो आयोजना ‘सानो मेलम्ची’का रूपमा चर्चित भए पनि प्रत्यक्ष प्रगतिले भने निराश तुल्याएको छ।
प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो आम निर्वाचन (२०४८) मा नुवाकोट–१ मा पराजित भएका डा. रामशरण महत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र पटक–पटक अर्थमन्त्री हुँदा पनि आयोजनाको प्रभावकारिता तथा वास्तविक अवस्थाबारे पर्याप्त तथ्यगत जानकारी नपुर्याइएकै कारण आवश्यक प्राथमिकता नपरेको उपभोक्ताहरूको आरोप छ।
२०६५ जेठ १४ मा नुवाकोट प्रशासनको रोहवरमा रसुवा–नुवाकोटका उपभोक्ता तथा सरोकारवालाबीच मुहान प्रयोग गर्न सहमति भएपछि आयोजना नयाँ उत्साहका साथ अघि बढेको थियो। रसुवा यार्सा (हाल नौकुण्ड) गाउँपालिकास्थित मुहान प्रयोग गर्ने सहमति पछि ड्वाचे खानेपानी आयोजनालाई ‘सानो मेलम्ची’का रूपमा थप लोकप्रियता मिलेको हो।
पञ्चायतकालमा सुरु गरिएको, बहुदलपछि चलमलाएको र गणतन्त्र आएपछि उपभोक्ता समितिमार्फत २०६४ बाट दवाबसहित पुनःसञ्चालित यस आयोजनाबाट लच्याङ, नर्जा, बागेश्वरी, गेर्खु, हल्देकालिका, गणेशस्थान, खानीगाउँ र बिदुर नगरपालिका हुँदै ३० वडामा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको छ। तर, अहिलेसम्म आयोजनाको अवस्था ‘ल्याङफ्याङ’ नै छ।
स्थानीयवासीले विकास आयोजनामा बढ्दो राजनीति, भ्रष्टाचार र दाबी–प्रतिदाबीको चर्को प्रतिस्पर्धाले ड्वाचे खानेपानी जस्तो अत्यावश्यक योजना बारम्बार उपेक्षित भएको आरोप लगाउँदै आएका छन।
सुर्यगढी, तादी, लिखु र बिदुर नगरपालिकाका हजारौं उपभोक्ताको ‘स्वच्छ पानी’को सपना अझै अधुरो रहँदा उपभोक्ताहरूले अब आएर सकारात्मक पहल, एकता र दबाबमार्फत आयोजना पूरा गर्न सबैलाई आह्वान गरेका छन्।
उनीहरूका अनुसार, “अब आरोप–प्रत्यारोप होइन, सचेत उपभोक्ताको अगुवाइमै ड्वाचे खानेपानी आयोजना पूरा गर्नतर्फ सबैले ध्यान दिनुपर्ने बेला यही हो।”











