
काठमाडौं मेयर बालेन शाहका बुबा रामनारायण शाहको निधन


काठमाडौं मेयर बालेन शाहका बुबा रामनारायण शाहको निधन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको निधन भएको छ। मुटु सम्बन्धी गम्भीर समस्या देखिएपछि उनलाई केही दिनअघि सिभिल अस्पतालमा भर्ना गरिएको थियो।
मेयर बालेनको सचिवालयका अनुसार रामनारायण शाहको शरीरमा रगत जमेको अवस्था (ब्लड क्लट) देखिएको थियो। स्वास्थ्य अवस्था अचानक जटिल बन्छबनै उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासपछि पनि उनको स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार निधन भएको जनाइएको छ।
रामनारायण शाह सरल, सौम्य र सामाजिक स्वभावका व्यक्ति मानिन्थे। परिवारका अनुसार पछिल्ला केही महिनादेखि स्वास्थ्यमा उतार–चढाव आइरहे पनि चिकित्सकको सल्लाहमा नियमित उपचार भइरहेकै थियो।
उता, मेयर बालेन शाह अहिले शोकमा छन्। सचिवालयले पारिवारिक गोपनीयता र संवेदनशीलता ध्यानमा राख्दै अन्त्येष्टि तथा अन्य जानकारी समयमै सार्वजनिक गरिने जनाएको छ।











