
देवीघाटलाई आध्यात्मिक पर्यटकीय केन्द्र बनाउनुपर्छ : राजन गौतम (नकुल)


देवीघाटलाई आध्यात्मिक पर्यटकीय केन्द्र बनाउनुपर्छ : राजन गौतम (नकुल)
पुस २९ नुवाकोट | प्रगतिशील लोकतान्त्रिक पार्टीका बागमती प्रदेश अध्यक्ष परिषदको सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजन गौतम (नकुल) ले नुवाकोटको ऐतिहासिक एवं धार्मिक स्थल देवीघाटलाई योजनाबद्ध संरक्षण र ब्रान्डिङमार्फत प्रमुख आध्यात्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै, गौतमले देवीघाट प्राचीनकालदेखि नै आध्यात्मिक चेतना, तपस्या र साधनाको केन्द्र रहेको उल्लेख गर्दे उनले यस क्षेत्रको ऐतिहासिक र धार्मिक गरिमालाई उजागर गर्न यस विषयमा गम्भीर चासो देखाउनुपर्ने आवश्यकता औंल्याएका छन्
आध्यात्मिक र ऐतिहासिक महत्व रहेको त्रिशूली नदीको संगम र शान्त वातावरणका कारण देवीघाट नेपालकै विशिष्ट आध्यात्मिक स्थल भएको स्मरण गराउँदै, उनले लेखेका छन् कि “यहाँ सन्त-महात्मा र साधु-योगीहरूले ध्यान र तपस्या गर्ने परम्परा निरन्तर रहँदै आएको छ, जुन हाम्रो अमूल्य सांस्कृतिक सम्पदा हो।”
उनीले थपे कि देवीघाटको सम्बन्ध नेपालको इतिहाससँग गहिरो रूपमा जोडिएको भएकाले यसको दिगो विकास जुटाउन सबैको सहयोग आवश्यक छ।
राजा प्रताप मल्लदेखि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहसम्मले यस स्थललाई धार्मिक दृष्टिले उच्च महत्त्व दिएको उल्लेख गर्दै उनले यसको गौरवशाली पहिचानलाई विश्वस्तरमा पुर्याउनुपर्ने बताए
उनका अनुसार देवीघाटको सही ब्रान्डिङ गर्न सकिएमा स्वदेशी मात्र नभई विदेशी धार्मिक पर्यटकलाई समेत ठुलो संख्यामा आकर्षित गर्न सकिन्छ। जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने उनको विश्वास छ।
तर, यस्तो सम्भावनालाई साकार पार्न पुरानै ढर्राको सोच र अस्थायी कार्यक्रमले मात्र नपुग्ने उनको ठहर छ।
गौतमले बागमती सरकारलाई ध्यानाकर्षण गराउँदै भने, “यो काम उन्नत दृष्टिकोण, दीर्घकालीन योजना र बलियो राजनीतिक इच्छाशक्तिबाट मात्र सम्भव छ। केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी गुरुयोजना निर्माण गर्न ढिलाइ गर्नुहुँदैन।”
नुवाकोट जिल्लाको देवीघाटको विकासका लागि पूर्वाधार निर्माण, धार्मिक पर्यटन कार्यक्रम र स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न उनले माग गरेका छन्। उनी देवीघाटजस्तो ऐतिहासिक स्थल ओझेलमा परेको भन्दै अब बहसबाट मात्र नभई व्यवहारमा ठोस काम सुरु गर्न सबैले ऐक्यबद्धता देखाउँदै अगाडि बढ्न आह्वान गरेका छन्।











