
गायक प्रकाश सपुतको सांगीतिक पुनरागमन: ‘म अब इमान्दार नागरिक र कलाकार मात्र बन्न चाहन्छु’


गायक प्रकाश सपुतको सांगीतिक पुनरागमन: ‘म अब इमान्दार नागरिक र कलाकार मात्र बन्न चाहन्छु’
काठमाडौँ | चैत ८, २०८२
नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित एवं प्रभावशाली गायक प्रकाश सपुत पुनः आफ्नो पुरानै लय अर्थात् कलाकारितामा फर्किएका छन्। पछिल्लो समय राजनीति र सामाजिक मुद्दाहरूमा सक्रिय देखिएका सपुतले अबको आफ्नो सम्पूर्ण समय र ऊर्जा कला क्षेत्रमै खर्चिने घोषणा गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकहरूलाई जानकारी दिँदै अब जनतालाई शुद्ध मनोरञ्जन दिनु नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। राजनीतिप्रतिको केही समयको मोह र सक्रियतापछि उनी फेरि सिर्जनाको दुनियाँमा फर्किएका हुन्।
राजनीतिक यात्रा र समानुपातिकको प्रसंग
यसअघि गायक सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग निकट देखिएका थिए। निर्वाचनको प्रक्रियामा उनको नाम समानुपातिक सूचीमा चर्चामा रहे पनि अन्तिममा उनी छनोटमा परेनन्। यद्यपि, यस विषयमा उनले कुनै पनि किसिमको असन्तुष्टि वा गुनासो व्यक्त गरेका छैनन्।
उनले राजनीतिमा अवसर नपाउनुलाई सहज रूपमा लिँदै भनेका छन्, “मलाई कसैप्रति कुनै गुनासो छैन। म अब एक इमान्दार नागरिक बनेर देश र समाजको सेवा गर्न चाहन्छु।” राजनीतिभन्दा बाहिर रहेर पनि समाजलाई योगदान दिन सकिन्छ भन्ने उनको पछिल्लो अभिव्यक्तिले प्रस्ट पारेको छन् ।
’बोल माया’, ‘गल्बन्दी’ र ‘पीर’ जस्ता कालजयी गीतहरू दिएका सपुत फेरि संगीतकै माध्यमबाट जनताको मन जित्न तत्पर देखिएका छन्। उनले कलाकारितामा फर्किएको घोषणा गरेसँगै संगीत प्रेमीहरूमा नयाँ उत्साह थपिएको छ।
”कलाकारिता मेरो पहिचान हो र जनताको माया मेरो शक्ति हो,” उनले भनेका छन्। उनले आगामी दिनमा अझ परिष्कृत र अर्थपूर्ण सिर्जनाहरू ल्याउने संकेत समेत दिएका छन्। सपुतको यो पुनरागमनले नेपाली सांगीतिक क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।











