​काठमाडौँमा घरबेटीको ‘भाडा आतंक’ र महँगीको चक्रव्यूह: डेरावालको भविष्यमाथि खेलबाड, कहाँ छ सरकार?

0
32

नगर विकास ब्युरो काठमाडौँ, बैशाख १३, २०८३
​काठमाडौँ । नेपालको मुटु मानिने काठमाडौँ अहिले सामान्य नागरिकका लागि ‘निल्नु न ओकल्नु’ भएको छ। एकातिर आकाशिएको बजार महँगी र अर्कोतिर घरबेटीहरूको मनपरी भाडा वृद्धिले गर्दा राजधानीमा बस्ने लाखौँ डेरावालहरूको जीवन नर्क समान बनेको छ। विहान बेलुकाको छाक टार्ने कि घरबेटीको खल्ती भर्ने भन्ने गम्भीर प्रश्न अहिले हरेक डेरावालको ओठमा झुण्डिएको छ।
​पछिल्लो तथ्याङ्क र बजारको अवस्थालाई हेर्ने हो भने, काठमाडौँका घरबेटीहरूले घरभाडालाई ‘कमाउने भाँडो’ मात्र होइन, ‘लुट्ने माध्यम’ बनाएका छन्। विना कुनै सम्झौता र पूर्वसूचना, प्रत्येक वर्ष वा ६–६ महिनामा आफुखुसी भाडा बढाउने प्रवृत्तिले सीमा नाघेको छ। “हामीले रगत पसिना बगाएर कमाएको आधाभन्दा बढी हिस्सा त कोठाभाडामै जान्छ,” एक पीडित डेरावालले मलिन अनुहार पार्दै भने, “बाँकी रहेको थोरै पैसाले छोराछोरीलाई कसरी पढाउने? कसरी अस्पताल जाने?”
​समस्या भाडामा मात्र सीमित छैन। घरबेटीहरूले बिजुलीको प्रतियुनिट तोकिएको भन्दा दोब्बर असुल्ने, पानीको नाममा मासिक हजारौँ लिने र फोहोर व्यवस्थापनको नाममा समेत अतिरिक्त शुल्क लिने गरेका छन्। यो एक प्रकारको ‘नियोजित आर्थिक शोषण’ हो। धेरैजसो घरबेटीले भाडाको रसिद समेत दिँदैनन्, जसले गर्दा उनीहरूले राज्यलाई बुझाउनुपर्ने घरबहाल कर समेत छली गरिरहेका छन्।
​अर्कोतर्फ, बजारको महँगीले सर्वसाधारणको ढाड खुस्काएको छ। विद्यालयको भर्ना शुल्क, मासिक फि, स्टेशनरी र स्कुल बसको भाडा हरेक शैक्षिक सत्रमा अचाक्ली बढ्ने गरेको छ। खाद्यान्न, तरकारी र औषधि जस्ता आधारभूत आवश्यकताका वस्तुहरूको मूल्य व्यापारीहरूले आफुखुसी बढाउँदा उपभोक्ताहरू निरीह बनेका छन्। “एकातिर घरबेटीको दबाब, अर्कोतिर छोराछोरीको भविष्यको चिन्ता—हामी मध्यमवर्गीय मान्छे त बिचमै पिसिने भयौँ,” अर्का एक अभिभावकले गुनासो गरे।
​विडम्बनाको कुरा त यो छ कि, काठमाडौँका स्थानीय सरकार र प्रशासन यी सबै दृश्य देखेर पनि ‘मौन’ छन्। घरभाडा नियन्त्रणका लागि बनाइएका कानुनहरू कागजमै सीमित छन्। अनुगमन गर्ने निकायहरू व्यापारी र बिचौलियाको सेटिङमा चल्दा सर्वसाधारण जनता भने सडकमा पुग्ने अवस्था आएको छ।
​यदि सरकारले तत्काल वैज्ञानिक भाडादर निर्धारण नगर्ने, घरबहाल करको कडाइका साथ अनुगमन नगर्ने र बजारको कालोबजारी नरोक्ने हो भने, काठमाडौँमा ‘डेरावाल विद्रोह’ सुरु हुने निश्चित छ। अब जनताले सोध्ने बेला आएको छ— “के यो सहर धनी र घरबेटीहरूको लागि मात्रै हो? गरिब र डेरामा बस्नेहरूको यहाँ कुनै स्थान छैन?”

LEAVE A REPLY