
बहुप्रतिभाशाली सर्जक गणेश रसिक अब रहेनन्।


बहुप्रतिभाशाली सर्जक गणेश रसिक अब रहेनन्।
काठमाडौँ, जेठ १८ – बहुप्रतिभाशाली सर्जक गणेश रसिकको आइतबार ७८ वर्षको उमेरमा निधन भएको छ। उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहान ११ बजे ज्यान गएको हो। संगीतकार बुलु मुकारुङले रसिकको निधनको जानकारी दिएका हुन्।
प्रोस्टेट क्यान्सरबाट पीडित रसिक लामो समयदेखि उपचाररत थिए। परिवारका अनुसार बेलायतमा रहेकी उनकी छोरी नेपाल फर्किएपछि मात्र अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
२००४ साल असोज ४ गते भोजपुरको छिनामखुमा जन्मिएका रसिक २०५० को दशकतिर इलाम सरेका थिए। करिब पाँच दशकअघि ‘लेकाली’ सांगीतिक समूहबाट कला यात्रा सुरु गरेका उनले कवि, गीतकार, संगीतकार, निबन्धकार, नियात्राकार तथा लेखकका रूपमा बहुआयामिक योगदान दिएका थिए।
उनले लेखेका कथा, कविता, संस्मरण, निबन्ध र नियात्राका कृतिहरूबीच सारंगीभित्र, गणेश रसिकका गीतहरू, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर र जब सिस्नोहरू टेक्दै हिँडे लगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।
रसिकका श्रीमती र छोरा पहिले नै दिवंगत भइसकेका थिए। उनका केही गीतहरू विद्यालय पाठ्यक्रममा समेत समावेश छन्। “हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ”, “तराई हेर कति राम्रो हरियो वन हुनाले”, “मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ”, र “रातो भाले क्वाँए क्वाँए” जस्ता उनका गीतहरू अहिले पनि जनमानसमा लोकप्रिय छन्।
सांस्कृतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै, उनले सांस्कृतिक संस्थानको महाप्रबन्धक र नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानको सदस्यसचिवको रूपमा पनि महत्वपूर्ण भूमिका निभाएका थिए।