
कमला घिमिरे अधिकारीका तीन मुक्तक


कमला घिमिरे अधिकारीका तीन मुक्तक
१,
औसत हिसाब राख्नु जिन्दगीको, नराख्नु कणकणको
दबाइ मिल्नेछ हरेक रोगको, हेरेर त्यसका लक्षणको
झिलिमिली संसारको अर्थ हुन्न, घर नै अन्धकार छ भने,
घाउ लिएर बाँच्नेलाई मतलब हुन्न हजुर, चर्का भाषणको ।
२,
सर्वस्व ठानेको मान्छेले पनि खुसीको बहार नल्याउन सक्छ
आफ्नै लयमा दौडँदै गर्दा, समयले पनि त नभ्याउन सक्छ
नआत्तिनु दुःखमा, नमात्तिनु सुखमा, एकनास हुन्न जिन्दगी,
सुखले सधैँ साथ नदिएझैँ, दुःखले पनि नपछ्याउन सक्छ ।
३,
मेघ गर्जन्छ, चट्याङ पर्छ जब आकाशमा बादल मडारिन्छ
सन्तुष्टि मिल्दैन स्वर्गजस्तै ठाउँमा पनि हलचल मडारिन्छ
मठ–मन्दिर, ध्यान शिविर जता गए पनि मिल्दैन रे शान्ति,
आफैँ तड्पिन्छ, मन गाँठो पार्छ जब मनमा छल मडारिन्छ ।











