गाेरखा– बारपाकमा सुलिकोट बहुउद्देश्यीय सहकारीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन।

0
14

गाेरखा– बारपाकमा सुलिकोट बहुउद्देश्यीय सहकारीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन।

२९ कात्तिक, गोरखा । बारपाक सुलिकोट गाउँपालिका–२ बारपाकस्थित सुलिकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। संस्थाको मुख्य कार्यालयमा आयोजित साधारणसभाले २०८२ देखि २०८६ सम्मका लागि नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गर्दै आगामी चार वर्षका योजनासहित संस्थालाई नयाँ नेतृत्वमा अघि बढाउने निर्णय गरेको छ।

साधारणसभाबाट चयन भएको नयाँ सञ्चालक समितिको अध्यक्षमा बुद्दिमान श्रेष्ठ, उपाध्यक्षहरूमा बिकल कुमार श्रेष्ठभद्र कुमारी बराम, सचिवमा राजन बाबु श्रेष्ठ, सहसचिवमा सुजन गुरुङ तथा कोषाध्यक्षमा मदन अंगाई निर्वाचित भएका छन्। त्यस्तै सदस्यका रूपमा शुक्रराज गुरुङ, धन बहादुर गुरुङ, अम्मर बहादुर गुरुङ, तिलु गुरुङ, सूर्य कुमार श्रेष्ठ, सनक बहादुर भट्टभावना परियार चयन भएका छन्। नयाँ समिति सर्वसम्मत रुपमा निर्वाचित भएको जानकारी सचिव श्रेष्ठले दिएका छन्।

कार्यक्रममा संस्थाको वार्षिक प्रगतिबिवरण, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्ययोजनाबारे विस्तृत छलफल भएको थियो। शेयर सदस्यहरूको सक्रिय सहभागितामध्ये प्रस्तुत प्रतिवेदनहरू छलफलपछि सर्वसम्मत पारित गरिएको सहकारीले जनाएको छ। सहकारीले यस वर्ष पनि शेयर सदस्यलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। सहकारीको पारदर्शिता, सदस्य–केन्द्रित सेवा प्रवाह र आर्थिक सुदृढिकरणलाई प्राथमिकतामा राख्दै आगामी वर्षहरूमा योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।

साधारणसभामा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट, गाउँपालिका प्रवक्ता जित बहादुर नेपाली, विभिन्न वडाका वडाध्यक्ष तथा सदस्य, सहकारीका काठमाडौँस्थित कर्मचारी सुरज श्रेष्ठ, गाउँभित्रका सेवा केन्द्रका कर्मचारी तथा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भट्टले सहकारीलाई अझ पारदर्शी, सक्षम र सदस्यमुखी बनाएर स्थानीय कृषि, पशुपालन तथा अन्य उत्पादनमूलक क्षेत्रमा प्रभावकारी रूपमा योगदान गर्न सुझाव दिए। उनले सहकारीहरू गाउँको आर्थिक उत्थानका मुख्य आधार भएकाले अब संस्थाले दीर्घकालीन योजना बनाएर स्थानीयस्तरमा रोजगारी र आयआर्जन बढाउने परियोजनामा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे।

यसैगरी अन्य वक्ताहरूले सहकारीको निरन्तर प्रगति, सदस्यहरूको सक्रियता र स्थानीय विकासमा स्थापित भूमिकाको प्रशंसा गर्दै नयाँ समितिलाई सफल कार्यकालका शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै सदस्य, कर्मचारी तथा सरोकारवालालाई संस्थाले धन्यवाद व्यक्त गर्दै साधारणसभा औपचारिक रूपमा सम्पन्न गरिएको घोषणा गरेको छ।

LEAVE A REPLY