
प्रधानमन्त्री कार्यालयमा नातावादको विवाद, जेनजी युवाको आज ध्यानाकर्षण।


प्रधानमन्त्री कार्यालयमा नातावादको विवाद, जेनजी युवाको आज ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नै परिवार र नातेदारलाई सरकारी पदमा नियुक्त गरेको विवरण सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयभित्र नातावादको गम्भीर प्रश्न उठेको छ। यो विवादलाई लिएर जेनजी पुस्ताका युवा अगुवाहरू आज प्रधानमन्त्री कार्कीलाई भेटेर औपचारिक रूपमा ध्यानाकर्षण गराउने तयारीमा छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार सचिव–सरह सुविधा पाउने आदर्श श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिव–सरहको स्वकीय सहसचिव र नातेदार कमला श्रेष्ठलाई स्वकीय सहसचिवमा नियुक्त गराएका छन्। दुवैजनालाई असोज २ गते पदबहाली गरिएको हो। सोही दिन नासु–सरहका प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठलाई समेत नियुक्त गरिएको स्रोतले पुष्टि गरेको छ। प्रधानमन्त्री कार्कीले पद सम्हालेको एक साताभित्रै भएको यस्तो पदपूर्ति सार्वजनिक भएपछि आलोचना थप चर्किएको छ।
यस घटनापछि जेनजी युवाहरूले आदर्श श्रेष्ठलाई बर्खास्त गर्न र परिवारजनलाई दिइएका नियुक्तिहरू तत्काल खारेज गर्न माग गर्दै आएका छन्। जेनजी युवा नेतृ रक्षा बमले सामाजिक सञ्जालमार्फत सरकारको नैतिकतामै प्रश्न खडा भएको टिप्पणी गरेकी छन्।
‘परिवर्तनका लागि बगेको रगतलाई बिर्सेर व्यक्तिगत स्वार्थ र नातावाद हाबी गराउने प्रवृत्तिले जनआस्था कमजोर बनाएको छ,’ उनले लेखेकी छन्, ‘जेनजी पुस्ताको आन्दोलन आर्थिक मात्र होइन, नैतिक भ्रष्टाचारविरुद्ध पनि थियो।’
नातावादको आरोपसँगै राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म प्रधानमन्त्री कार्यालयको निर्णयप्रति तीव्र आलोचना बढेको छ। अब प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूको मागबारे कस्तो कदम चाल्छिन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।











