
प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेल पक्राउ, रश्मी पन्त गायब।


काठमाडौं । प्रभु बैंकमा कर्जा अपचलनसम्बन्धी आरोपमा चलिरहेको अनुसन्धान तीव्र बन्दै जाँदा बैंकका उच्च पदाधिकारीहरू क्रमशः पक्राउ परिरहेका छन्। आइतबार दिनभरै चलेको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अभियानअन्तर्गत बैंकका डेपुटी सीइओ मणिराम पोखरेललाई समेत नियन्त्रणमा लिइएको छ। पोखरेललाई अनामनगरस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयबाट सीआईबी टोलीले पक्राउ गरेको बैंक स्रोतले जनाएको छ।
यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन्। बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि कर्जा अपचलनसम्बन्धी मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको पृष्ठभूमिमा शीर्ष तहका एकपछि अर्को अधिकारी पक्राउ परेपछि बैंकभित्र थप चहलपहल बढेको देखिन्छ।
त्यसक्रममा बैंकका प्रमुख जोखिम अधिकृत (Chief Risk Officer) रिवास श्रेष्ठलाई पनि सीआईबीले नियन्त्रणमा लिएको छ। श्रेष्ठ लामो समयदेखि बैंकको कर्जा विभागमा कार्यरत रहँदै आएका थिए र जोखिम व्यवस्थापनसम्बन्धी प्रमुख भूमिका सम्हालिरहेका थिए।
बैंकका प्रमुख व्यवसाय अधिकृत (Chief Business Officer) रश्मी पन्त भने एक सातादेखि नियमित कार्यालयमा उपस्थित छैनन्। उच्च पदस्थहरू पक्राउ परिरहेको सन्दर्भमा पन्त सुदूरपश्चिमतिर गएको दाबी बैंककै स्रोतहरूले गरेका छन्। यद्यपि यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।
सीआईबीले शेरचनसँगै पोखरेल र अर्को एक कर्मचारीलाई पनि पक्राउ गरेको बताइए पनि तेस्रो व्यक्तिको पहिचान औपचारिक रूपमा खुलाइएको छैन। स्रोतहरूले भने पक्राउ प्रक्रिया बैंकको बिजुलीबजारस्थित प्रधान कार्यालयबाटै सञ्चालन भएको पुष्टि गरेका छन्।
बैंकमा कर्जा अपचलनसम्बन्धी पुराना फाइल, स्वीकृत कर्जा, ग्यारेन्टी र कर्जा पुनर्संरचनासम्बन्धी निर्णयहरूमा अनियमितता भएको आशंकामा सीआईबीले व्यापक रूपमा विवरण संकलन गर्दै आएको छ। थप केही फाइल र अभिलेखका लागि पनि प्रहरी टोली बैंकमा पुगेको बताइएको छ।
उच्च व्यवस्थापनका अधिकांश कर्मचारी कार्यालयमै रहिरहे पनि बैंकभित्र तनावपूर्ण माहोल छ। यस घटनाका कारण बैंकका आन्तरिक निर्णय, कर्जा नीतिहरू र विगतका स्वीकृत कर्जा प्रक्रियाहरू पुनः छानबिनको दायरामा आउने निश्चित भएको देखिन्छ।











