
देश अघि बढाउन सक्षम नेतृत्व अपरिहार्य: गौतम


गौतम : कमजोर नेतृत्व र पुरातन सोचले देश रोकिएको, समयानुकूल दृष्टि
(मिति , २१ मंसिर २०८२ / ७ डिसेम्बर २०२५):
नुवाकोट – नुवाकोटका युवा नेता तथा सामाजिक अभियन्ता राजन गौतम (नकुल) ले देश पछाडि पर्नुको प्रमुख कारण नेतृत्वको कमजोरी र पुरातन सोच नै रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा मुलुकलाई मार्गदर्शन गर्न सक्षम, इमानदार र दूरदर्शी नेतृत्व अत्यावश्यक भएको स्पष्ट पारेका छन्।
गौतमले नेतृत्व राष्ट्रको परिणाम निर्धारण गर्ने आधारभूत तत्व भएको उल्लेख गर्दै लेखेका छन्, “नेतृत्व सही वा गलत हुनु नै प्रत्येक परिणामको आधार बन्ने रहेछ। विचार जति नै राम्रो भए तापनि नेतृत्व कमजोर पर्यो भने देशलाई सही दिशामा लैजान सकिन्छ भन्ने ग्यारेन्टी हुँदैन।” उनका अनुसार आज देशले भोगिरहेको आर्थिक सुस्तता, बेरोजगारी, अस्थिरता र विकासको धीमी गति नेतृत्वको असक्षमताकै प्रतिफल हो।
यसै सन्दर्भमा उनले योग्य, इमानदार र दूरदर्शी नेतृत्वमार्फत मात्रै जनताको आशा–आकांक्षा पूरा हुनसक्ने जोड दिएका छन्। उनका अनुसार जनता परिवर्तन चाहन्छन् तर परिवर्तन व्यवस्थाको होइन, नेतृत्वको गुणस्तरको हुनुपर्छ।
त्यससँगै गौतमले गाउँ–बस्तीको अवस्थामा देखिएको निराशा र अव्यवस्थालाई उल्लेख गर्दै थप लेखेका छन्, “उजाड हुँदै गएको गाउँ–बस्तीलाई पुनः हराभरा र समृद्ध बनाउन समयसापेक्ष, दूरदृष्टियुक्त नेतृत्व आजको अनिवार्य आवश्यकता हो।” उनका अनुसार पुरानो सोच, जस्ताको तस्तै प्रक्रिया र परिवर्तनविहीन शासकीय शैलीले अब समाधान दिन सक्दैन।
गौतमले नवोन्मेषी सोच, नयाँ दृष्टिकोण र स्थानीय मौलिकतामा आधारित विकास–चिन्तनलाई प्राथमिकता दिए मात्र राष्ट्रिय विकासको मार्ग प्रशस्त हुने दाबी गरेका छन्। “नयाँ पुस्ताको ऊर्जा, वैज्ञानिक सोच र नवप्रवर्तनलाई नेतृत्वले आत्मसात् गरे मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ,” उनका तर्क छ।
उनका अनुसार नेतृत्वको भूमिका देशलाई दिशा दिने कम्पासजस्तै हो। त्यसैले नेतृत्वमा देखिने कमजोरीको प्रत्यक्ष प्रभाव जनजीवनदेखि राज्य सञ्चालनसम्म देखा पर्न गएको उनले उल्लेख गरेका छन्। उनले जनतालाई नेतृत्व चयनमा अधिक सजग हुनुपर्ने, क्षमता र चरित्रलाई मापदण्ड बनाउनु आवश्यक रहेको स्पष्ट पारेका छन्।
गौतमले अबको दशक नेपालका लागि निर्णायक बन्ने बताउँदै चेतावनी दिएका छन्—यदि नेतृत्व पुनः विफल भयो भने अवसरहरू फेरि हराउनेछन्, तर सक्षम नेतृत्व उदाए मुलुक समृद्धि, रोजगारी र विकासको नयाँ अध्यायमा प्रवेश गर्न सक्नेछ।











